arrow

जबरजस्ती विवाह र धर्मपरिवर्तन नमान्दा पाकिस्तानमा हिन्दू किशोरीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
pakistan-hindu-girl.png

काठमाडौं । पाकिस्तानको दक्षिणपूर्वी सिन्ध प्रान्तमा जबरजस्ती धर्म परिवर्तन र विवाह गराउन खोज्दै एक हिन्दू किशोरीको हत्या भएको छ । लशारी जनजाति समूहका वाहिद बक्स लाशारीले १८ वर्षीया किशोरी पूजा कुमारीको धर्म परिवर्तन गरेर आफूसँग विवाह गराउन खोजेका थिए ।

प्रत्येक वर्ष यसरी पाकिस्तानमा हिन्दू र शिख अल्पसंख्यक समुदायका किशोरीहरुमाथि दमन, अत्याचार र हत्यासम्मका घटना हुने गर्छन् । यी घटनाहरुमाथि पाकिस्तान सरकार, प्रहरी र अधिकारीहरुलेसमेत वास्ता नगर्ने गरेको आरोप छ ।

सिन्ध प्रान्तको राजधानी कराँचीको बन्दरगाह सहरबाट करिब ४ सय ७० किलोमिटर उत्तरमा रहेको सुक्कर जिल्लाको रोहरी सहरमा गत हप्ता यो घटना भएको हो ।

२४ वर्षीय लशारीले कुमारीलाई यही महिनाको शुरुमा जबरजस्ती विवाह गर्नका लागि धम्की दिएका थिए । कुमारीको परिवारले जनजाति विरुद्ध प्रहरीलाई भने पनि शक्तिशाली जग्गाधनीसमेत रहेका लशारीविरुद्ध प्रहरीले कुनै कदम चालेन ।

त्यसको एक सातापछि मार्च २१ गते लशारी आफूसँग दुई जना सहयोगी लिएर किशोरीको घरमा घुसेको थियो । जबरजस्ती कुमारीलाई लैजान खोज्दा उनले विरोध गरेपछि लशारीले कुमारीको टाउकोमै बन्दुक हान्दा उनले घटनास्थलमै ज्यान गुमाइन् ।

यो घटनाले पाकिस्तानी सामाजिक सञ्जालमा आक्रोश पैदा गरेपछि प्रहरीले लाशारी र दुई सहयोगीलाई मार्च २१ को राति पक्राउ गरेको थियो । अहिले प्रमुख संदिग्धले अपराध स्वीकार गरिसकेका छन् ।

प्रत्येक वर्ष यसरी कम्तीमा १ हजार हिन्दू वा शिखलगायत अल्पसंख्यक समुदायका किशोरीहरुमाथि धर्म परिवर्तन गरेर मुस्लिम हुन लगाउने, जबरजस्ती विवाह गर्न खोज्नेदेखि हत्यासम्मका घटना हुने गर्छन् । सन् २०१७ को जनगणना अनुसार पाकिस्तानमा ९७ प्रतिशत मुस्लिम र करिब २ प्रतिशत हिन्दूको जनसंख्या रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ