arrow

'निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भोलि गाह्रो पर्ला'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
dinesh_thapaliya.jpg

ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याएका छन् ।

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जुनसुकै बेला अप्ठेरोमा पर्न सक्नेतर्फ समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।

उनले भने, “सम्पूर्ण सरोकारवालाको सहभागितामा मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ भन्नेमा आयोग दृढ छ, खर्च गरेर निर्वाचन जित्छु भन्ने मनसाय राख्ने दल र उम्मेदवारले लोकतन्त्रको दुहाइ दिन मिल्दैन, पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ ।”

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन भनेको राजनीतिको कर्मकाण्डी प्रक्रिया नभई विकास, सहभागिता र सुशासन प्रत्याभूतिको प्रक्रिया भएकाले आचारसंहिता पालनाको संस्कृतिलाई अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “निर्वाचन भनेको समानता र सभ्यताको प्रणाली हो भने आचारसंहिता स्वावलम्बन र स्वराजको प्रक्रिया हो, प्रजातन्त्र चाहिँ सांस्कृतिक अभ्यास हो । आचारसंहिता पालनाको मुख्य जिम्मेवारी राजनीतिक दल र उम्मेदवारको हो ।”

नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले १८ वर्ष उमेर नपुगेकाले मतदान गर्न पाउँदैनन्, उमेर पुगेका धेरै रोजगारीका लागि विदेशिएको अवस्था रहेको तथा ज्येष्ठ नागरिक मतदान गर्न जान नसक्ने हुँदा निर्वाचनमा धेरै पैसा केका लागि खर्च गर्नुपर्छ भनी जिज्ञासा राखे।

उनले भने, “पछिल्ला निर्वाचन लोकतन्त्रको सुदृढीकरण र जनताको हितका लागि नभई राजनीतिक दल र नेताका लागि मात्र हुन पुगेको छ । यस्तो निर्वाचनले देश र जनताका भलो गर्दैन, निर्वाचन सुशासनका लागि कि खर्च गर्नका लागि हुन लागेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ