arrow

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ 'दरबारमार्ग महोत्सव २०७९' हुने

नयाँ वर्षको पहिलो साता दरबारमार्गमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
kathamdu-fncci-ncell-events-2079.jpg

काठमाडौँ। नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौँमा सडक महोत्सव आयोजना हुने भएको छ। कोभिडले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य: ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसंग महासङ्घको विशेष सहकार्य अन्तर्गत यो महोत्सव संयुक्त रूपमा वैशाख ३ शनिवार आयोजना गर्न लागेको हो। महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रूपमा हरेक वर्ष आयोजना गरिने छ। यो महोत्सवमा सम्पूर्ण रूपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुति गरिने छ।

वैशाख ३ गते बिहान १०:०० बजे सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति गरिने छ। दरबार मार्गको दक्षिण क्षेत्रको महेन्द्र सालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले आफ्नो सन्देशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए। राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठुलो सन्देश जाने आशा समेत उनले गरेका छन्। कसरी थलिएको अर्थतन्त्र, उद्योग व्यवसायमा सकारात्मक ऊर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोल्छाले स्पष्ट पारे।

यस महोत्सवको लागि महासङ्घसँग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, "कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठुलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छै। आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवर्द्धन गर्दै पुनरुत्थानमा सहयोग पुर्‍याउन महासङ्घसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौँ।"

महोत्सवको सोही दिन बिहान ११:३० बजे औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ। तत्पश्चात् बेलुका ८:१५ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन्।
महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय साङ्गीतिक समूह सुरसुधा लगायत अन्य समूहहरू जस्तै सृष्टि केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन्। साथै सातै प्रदेशबाट विभिन्न जात जातिको सांस्कृतिक नृत्यहरू दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरू र नेपाली उत्पादनहरूको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्। महोत्सव क्षेत्रमा बालबालिकाका लागि छुट्टै किड्स जोनsJ व्यवस्था गरिएको छ। महोत्सवमा हुने स्टलहरू मध्ये केही स्टलहरूमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्ताकलाका वस्तुहरूलाई पनि प्रदर्शनीमा राखिने छ।

विश्व भरी महामारीको रूपमा फैलिरहेको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। हाल ९० प्रतिशत बढी जनसङ्ख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य उङ्दै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरूक बनाउने विश्वास गरिएको छ।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम गरिरहेको महासङ्घको यो प्रयास पनि त्यसैको श्रृखलाको रूपमा रहेको छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड सङ्कटबाट बिस्तारै तङ्ग्रने क्रममा रहेका उद्योग व्यवसाय माथि विद्युत् कटौतीको समस्याले थप समस्या निम्ताएको बताए। सङ्कटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरबारमार्ग महोत्सवले ठुलो सहयोग पुर्‍याउने विश्वास प्रकट गरे। 

महासङ्घका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सघाई, एनसेलका कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर विशाखा लक्ष्मी खड्का, ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर अनुषा प्राधानाङगको उपस्थिति रहेको पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति नरेन्द्र खड्काले स्वागत मन्तव्य र रेवानका अध्यक्ष एवं महासङ्घको वसुगत परिषद्का सह सभापति अरनिको राजभण्डारीले महोत्सवका बारेमा विस्तृत जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा रोयल स्टेटका रविन्दर सैनी,दरबारमार्ग विकास वोर्डका सचिव उद्धव ढकाल, एनआइसी एसियाका सरद तुलाधर, माल्टा इन्टरनेशनलका विजय सुवाल, एनसेलका वरिष्ठ अधिकारीहरू, महासङ्घका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ