- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपरासी पश्चिम । नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेका ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
बहुवर्षीय खोप कार्ययोजनाको लक्ष्यअनुसार यही चैत २२ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
खोप अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्सपेक्टर एवं कोभिड–१९ जिल्ला फोकल पर्सन देवी पौडेलले जानकारी दिए ।
टाइफाइड विरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए ।
केही विद्यालयमा बालबालिकाहरुको परीक्षा संचालन भएकोले केही पालिकामा अघिपछि मितिमा टाइफाइड रोगविरुद्धको खोप लगाइने उनको भनाइ छ । यो खोपको भायलमा भीभीएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने भएको छ ।
यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बायाँ तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बायाँ पाखुराको बीच बाहिरी भागमा लगाइने भएको हो ।
नवलपरासी पश्चिम जिल्लामा ८ दिनको अभियान संचालन गरेर खोप पूर्ण रुपले दिइसक्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
१५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरि खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।