भन्सार क्षेत्रमा यात्रुलाई दुःख दिने चार जना नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
331
Shares
सिद्धार्थनगर । जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नं २७ गण मुख्यालय रुपन्देहीको संयुक्त टोलीले भैरहवा भन्सार क्षेत्रमा सञ्चालन गरेको डग स्निफिङसहितको स्वीप अपरेसनका क्रममा चार जनालाई नियन्त्रणमा लिएको छ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा यात्रुलाई अनावश्यक हैरानी दिइरहेका व्यक्तिलाई आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा पर्नेमा भारत उत्तर प्रदेशको महाराजगन्जका २१ वर्षीय राज पाल रहेका छन् । उनको साथबाट भारु चार हजार ८५०, नेपाली रु ४०० तथा एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भारत उत्तर प्रदेश कुशीनगर निवासी २२ वर्षीय सजित अन्सारी र २१ वर्षीय विपिन कुशवाहालाई भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
साथै उत्तर प्रदेश, गोरखपुर इटहिया निवासी २५ वर्षीय अमित यादवलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्रकेश साहले भन्सार क्षेत्रको सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने शङ्कास्पद गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त रूपमा नियमित स्वीप अपरेसन सञ्चालन भइरहेको जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।