- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् ।
ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्याएका छन् ।
वडा र टोल स्तरमा भेला, सम्मेलन र जनभेटघाट अभियान सकेका प्रमुख दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको जनाएका छन् । तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन् । मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन् । मतदाता भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउछन् ।
अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका सुबोध बरुवालले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिए । “जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,” उनले भने, “सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।”
बेनी -५ भिरमुनीका सुनिल पौडेलले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए । वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका पौडेल युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शिताको मुद्दा अवको चुनावी एजेण्डा बन्नुपर्ने बताए । राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेका छन् ।
माओवादीले बेनी -१ मा नरबहादुर थापा, बेनपा-३ मा पदम पुन, अन्नपूर्ण गाउँपालिका-२ मा ओम फगामी, रघुगङ्गा-२ मा नरबहादुर भण्डारी, मालिका-१ मा तिलक पुन, मालिका-३ मा मोतिप्रसाद बुढा, मालिका-४मा रेशम पुन, मालिका-७ मा रुविन जुग्जाली, धौलागिरि-६ मा चक्र पुन, धौलागिरि-७ मा अशोक खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरिसकेको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए । चैत २७ गतेसम्म वडा र पालिकाका उम्मेदवार सिफारिस गर्न समय दिएको छ ।
बेनी-१ मा टेकबहादुर थापा, बेनपा-६ मा कृष्णसिंह बानिया र बेनपा-१० मा मसविर रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले यही चैत २५ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पालिका कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।
कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले वडा र पालिकाका उम्मेदवार छनोटका विषयमा छलफल गर्न सोमबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए । एक महिने अभियानका क्रममा वडा र पालिकाको सिफारिस र खटिएका प्रतिनिधीको प्रतिवेदनका आधारमा उम्मेदवार छनोट गरिने उनले बताए ।
सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेलको सम्भावना भए पनि औपचारिक रुपमा छलफल गरेका छैनन् । छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका- ८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका-५ चिप्लेटीको डिम्व आधारभूत र मङ्गला गाउँपालिका- १ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ । कर्मचारीको विवरण सङ्कलन गरेर श्रेणी÷तह विवरण छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेश गर्ने तयारी गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मतदानस्थलको स्थलगत अनुगमन गरी सुरक्षा रणनीति बनाउन जुटेको जानकारीदिए । निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ र अन्य १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । विसं २०७४ को चुनावमा ७१ हजार ४६३ मतदाता रहेको म्याग्दीमा ७१ मतदानस्थल र ११० वटा मतदान केन्द्र थिए ।
गत चुनावमा जिल्लामा कांग्रेसले बेनी नगरपालिकाको प्रमुख, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिका गाउँपालिकामा अध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो । एमालेले धौलागिरि र मङ्गला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिकामा उपाध्यक्ष र २३ वटा वडा विजय हासिल गरेको थियो । माओवादी केन्द्रले सात वटा वडा र राप्रपाले बेनी नगरपालिकाको उपप्रमुख जितेका थिए ।