arrow

धनुषाको शहीद अस्पताल चाँडै सञ्चालनमा ल्याइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
dhanusa-hospital-sahid.jpg

जनकपुर । भवन निर्माण भएर पनि अस्पताल सञ्चालन हुन नसकेको धनुषाको शहीदनगर नगरपालिकास्थित शहीद सूर्यनारायण रान जिल्ला अस्पताल चाँडै सञ्चालनमा आउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आएको टोलीले यो अस्पताल चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधिसभा सदस्य उमाशङ्कर अरगरियाको पहलमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वमा आएको टोलीले अस्पताल भवनको अनुगमन गरेको छ । अनुगमन गर्दै डा. लोहनीले चाँडै अस्पताल सञ्चालन हुने प्रतिक्रिया दिए । 

‘भवन निर्माण भइसकेको छ । बेड, एक्सरे मेसिन र ल्याब उपलब्ध गराएर चाँडोभन्दा चाँडो यो अस्पताल सञ्चालनमा ल्याउँछौँ ।' तत्काल सय बेडको अस्पताल सञ्चालन गर्न आफूले पहल गर्ने जानकारी गराए। 

शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले अस्पताल सञ्चालनमा ल्याइदिन डा. लोहनी नेतृत्वको टोलीसँग आग्रह गरे । उनले आफूले पनि यसमा सकेसम्म सहयोग गर्न तयार रहेको भन्दै यस क्षेत्रका जनताको मर्का बुझिदिन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धनुषा इन्चार्ज श्रवण बरबरियाले अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज पुग्ने बताए । उनले गम्भीर भएर ध्यान दिन मन्त्रालयका प्रतिनिधिसँग आग्रह गरे । 

यो अस्पतालको भवन ६ बर्सअघि नै निर्माण भएको हो । भवन बनाउन स्थानीय गाउँलेले आ-आफ्नो जग्गा प्रदान गरेका छन् । जग्गा प्रदान गरेपछि सरकारको रु ४ करोडको लगानीमा भवन निर्माण भए पनि अस्पताल सञ्चालन हुन नसक्दा स्थानीयवासी चिन्तामा परेका छन् । 

यद्यपि स्वास्थ्य मन्त्रालयको आश्वासनले यो अस्पताल चाँडै सञ्चालनमा आउने विश्वास उनीहरूले गरेका छन् ।



नयाँ