- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् ।
यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३औँ टाइफाइड विरुद्धको खोप थप गरिने भएको हो । दादुरा/रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने स्वास्थ्य कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार कास्कीका १२५ जना विद्यार्थी भएका हरेक विद्यालयमा पुगेर बालबालिकालाई खोप दिइनेछ । विद्यालय नभएका वडामा वडा कार्यालयमै खोप अभियान सञ्चालन हुनेछ ।
“अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइन्छ, त्यसपछि नियमित खोपअन्तर्गत १५ महिनाका प्रत्येक बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउन पाउँछन्,” उनले भने, “बालबालिकामा अरूमा भन्दा टाइफाइड हुने दर ११ गुणाले बढी हुने भएकाले सोही उमेर समूलाई लक्ष्य गरी सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।”
नेपालमा टाइफाइडको सङ्क्रमण दर उच्च छ । प्रतिएक लाख जनसंख्यामा १०० लाई टाइफाइड भएमा सङ्क्रमणको उच्च अवस्था मान्ने गरिएको र एक अध्ययनअनुसार नेपालमा प्रतिलाखमा एक हजार ६२ जनामा सङ्क्रमण पाइएको उनको भनाइ थियो ।
आचार्यका अनुसार कास्कीमा १५ वर्ष मुनिका करिब एक लाख ४१ हजार ७७६ जना बालबालिकालाई खोप लगाउन एक हजार १५ जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ ।
दूषित पानी र खानेकुराबाट धेरै लाग्ने रोगमध्ये टाइफाइड दोस्रो स्थानमा रहेको कार्यालयले जनाएको छ । ज्यानैसमेत जोखिममा पार्न सक्ने यसको सङ्क्रमण न्यूनीकरण र टाइफाइड लागिहाले पनि जटिलता कम गर्न सरकारले टाइफाइड खोपलाई नियमित खोप सेवामा राखेको हो । दुई वर्षअघि राष्ट्रिय खोप सल्लाहकार समितिले टाइफाइडविरुद्धको खोपलाई नियमित खोप सेवामा समावेश गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सङ्क्रमित व्यक्तिको दिसाबाट दूषित भएको खाना र पानीबाट टाइफाइड रोग सर्ने खोप सुपरभाइजर डा. रामचन्द्र बाँस्तोलाले जानकारी दिए । खोपसँगै समुदायस्तरमा सरसफाइ र प्रवर्द्धको अभियानलाई पनि सँगसँगै लानुपर्ने उनको भनाइ थियो । “टाइफाइड जनस्वास्थ्यका लागि समस्याकै रुपमा रहेको छ, खोपसँगै सरसफाइ र सचेतता अपनाउन सकियो भने यो रोग न्यूनीकरण भएर जान्छ”, डा. बाँस्तोलाले भने ।
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तर प्रमाणित गरेको टाइफाइड खोपको प्रभावकारिता ९७ प्रतिशतसम्म रहेको खोप अभियानका फोकल पर्सन नरबहादुर सारुले बताए । सारुका अनुसार यही चैत २४ गते पोखरास्थित अमरसिंह स्कूलबाट खोप अभियान शुरु हुनेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अभियान शुभारम्भ गर्ने कार्यक्रम छ
विगतमा अन्य कुनै खोप लगाउँदा शरीरमा जटिल प्रतिक्रिया देखापरे कुनै खाना या वस्तुबाट कडा खाले एलर्जी देखिएमा र एड्सको लक्षणका व्यक्तिलाई भने टाइफाइडको खोप लगाउन नहुने उनले बताए । अरू खोपमा झैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैँ ठीक भएर जाने सारुको भनाइ छ ।
म्यादे ज्वरोले समेत चिनिने टाइफाइडमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्कसम्बन्धी जटिल समस्या समेत देखिने जनाइएको छ ।