- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लामा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमकाबीच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गरेका हुन् ।
टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर, स्वास्थ्य कार्यालयका कोल्ड चैन निरिक्षक त्रिलोकी सिंह, लेखा अधिकृत नारायण भट्टराई, प्रतापपुर स्वास्थ्य शाखा हेअ विनोदकुमार कोहार, प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल र स्वास्थ्यकर्मी लगायतका उपस्थिति थियो ।
प्रतापपुर गाउँपालिकामा ४० वटा खोप केन्द्रबाट विद्यालय भित्र र विद्यालय बाहिरका करिब १६ हजार ४ सय ४ बालबालिकालाई उक्त खोप दिइने प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।
प्रतापपुर गाउँपालिकाले लक्षित उमेर समुहका कुनै पनि बालबालिका टाइफाइड रोगविरुद्धको खोप लिनबाट नछुट्टुन भनेर प्रचारप्रसारमा तिब्रता दिएको छ । पालिकाले रेडियो पत्रपत्रिका, सरोकारवालासँगको अन्तरक्रिया र माइकिङ्ग गरी प्रचारप्रसार गरिरहेको छ ।
चैत २२ गतेदेखि देशैभर शुरु भएको टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा पनि शुरुआत भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका ओमप्रकाश पन्थीका अनुसार नवलपरासी पश्चिमका सबै सात वटै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ८६ हजार जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने भएको छ ।
जिल्लाको ३ सय २२ खोप केन्द्र स्थापना गरि तोकिएको लक्षित उमेर समुहका सबै बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने उनको भनाइ छ । भौतिक उपस्थिति अनुसार विद्यालयले तथ्यांक नदिएकाले जिल्लामा लक्षित समुहका बालबालिकाको संख्या बढ्न सक्ने संभावना देखिन्छ । टाइफाइड रोगविरुद्धको अभियान दक्षिण एसियामा पहिलोपटक संचालन गरिएको हो ।
टाइफाइड रोगको संक्रमण जुनसुकै उमेरका व्यक्तिहरुमा हुने सर्ने भएपनि १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुमा संक्रमण दर बढ्ने र यो रोगको जटिलता उच्च देखिएकोले लक्षित उमेर समूहलाई प्राथमिकतामा सरकारले राखेको हो ।
टाइफाइड रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीले सर्ने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो अभियान सफल बनाउन जनस्वास्थ्य कार्यालय परासीले माइक्रो प्लानपरिगंङ, प्रत्येक संस्थाबाट खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम , संचारकर्मी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको जनाएको छ ।