arrow

वीरमा डमरु ग्याङको आतंक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
bir-hospital-corruption.jpg

काठमाडौं । लामो समयदेखि थला परेको नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालमा फेरि माफियागिरी बढ्दै गएको छ । सर्जिकल भवन सञ्चालन, दुवाकोट परियोजना शुरू, नयाँ नयाँ सेवा थपसहित सुधारउन्मुख हुँदै जाँदा फेरि माफिया सल्बलाउन थालेका हुन् । 

मेडिकल माफियाहरुको समूहमा शाखा अधिकृत डमरु दाहाल पनि थपिएको भन्दै कारबाहीका लागि आवाज उठेको छ । दाहाल पूर्व खरिद प्रमुख भगवती थपलिया, नक्कली मेडिकल बोर्ड वाला र कोभिड भ्यासिन बेचुवा टिकाराम पनेरु र ब्यापारी लक्ष्मण गौतमसँगै माफियागिरीमा सामेल भएका हुन् । 

शाखा अधिकृत डमरु काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट भ्रष्टाचार काण्ड आरोपमा लखेटिएका हुन् । दाहाल वीर अस्पतालमा मेडिकल माफियाकै योजना बमोजिम सिधै खरिद एकाइमा सरुवा भइ आएका थिए । 

वीर अस्पतालको प्रशासनमा वर्षौं काम गरेपछि खरिदमा जान पाइन्छ । तर दाहाल भने सिधै खरिद एकाइमा आइ कब्जा जमाइरहेका छन् । उनी खरिद एकाइका  अरू सदस्य र अस्पतालका कर्मचारीलाई ‘म अख्तियार, पुलिस, सामान्य प्रशासन र स्वास्थ्य मन्त्री निकट हुँ’ भन्दै सबै कोटेशन र उपकरण खरिदको फाइल कब्जा गरी आफु निकटसँग महङ्गो मूल्यमा कोटेशनमा कमसल सामान मगाएर कमिशन लिँदै मानव स्वास्थ्य माथिनै खेलवाड गरिरहेका छन् भने अस्पताल धरासायी गराउँदै गएका छन् । 

उनी खरिद प्रमुख र अस्पताल निर्देशकलाईसमेत माथि पहुँच छ भन्दै टेरपुच्छर नलगाउने अस्पताल स्रोत बताउँछ । उनी अस्पतालको मेडिकल, सर्जिकल, केमिकल, सरसफाइ, माइक्रोस्कोप, छपाइलगायत टेन्डर आफूनिकट ब्यापारी र  बेरुजु शाखा प्रमुख भगवती थपलियाको मिलोमतोबाट करोडौं रुपैयाँको अनियमितता गरेको अस्पताल उच्च स्रोत बताउँछ । 

स्रोत भन्छ, ‘उनले दाँत सम्बन्धी टेन्डर न्याम्स–एनसीबी–७८–७९–४५, न्युरो सर्जरी न्याम्स–एनसीबी–७८–७९–३९ टेन्डर आह्वान हुनु अगाडि नै व्यापारीसँग बाहिर होटलमा बसेर लागत अनुमान बताउँदै उनीहरुकै स्पेक अनुसार टेन्डर निकाली महङ्गोमा  टेन्डर हाल्न लगाइ गुणस्तरहीन सामान अस्पताल भित्र्याउन लागेका छन् ।’ 
 
त्यस्तै अस्पतालले गत मार्च १० तारिखमा १० वटा ओटी लाइट पाँच करोडमा किनाउन खोजे । आईएफबी नम्बरः न्याम्स–एनसीबी–७८–७९–४३ को टेन्डर आह्वान गरिएको थियो । सो टेन्डर आह्वान अगाडि नै अस्पतालले स्पेक बनाउन दाहालकै योजनामा युरोलोजी विभागका विवादित डा अनिल श्रेष्ठलाई जिम्मा दिइएको थियो । उनले आफू निकटको फर्मले मात्र टेन्डर पाउने गरी स्पेक बनाएपछि अन्य व्यापारीहरुले विरोध गरेका छन् । तब छताछुल्ल भयो यो घटनाको रहस्य ।  

व्यापारीहरुले डा अनिल, दाहाल  र  योजनाकार  भगवती थपलिया (पूर्व खरिद प्रमुख) विरुद्ध सम्बन्धित निकायमा उजुरी दिने तयारी गरेका छन् ।

युरोलोजी विभागको ४ करोडको सामानमा पनि डा अनिल र दाहालले टेन्डर हुनु भन्दा पहिले नै व्यापारीसँग कमिशन लिँदै होटलमा गइ स्पेक बनाइ थपलियामार्फत अस्पताल प्रशासनलाई दबाब दिइ सोही अनुसार टेन्डर आह्वान गरेको पाइएको छ । 

युरो विभागका एक कर्मचारीका अनुसार डा अनिल र थपलियाको मिलोमतोबाट यो भन्दा पहिला पनि युरोलोजी विभागमा २० वाटको लेजर मेसिन खरिद गरिएको थियो । सोबापत उनीहरुले मोटो रकम खाएका थिए । जसका कारण सो मेसिन प्रयोग गरिएकै केही समयमै बिग्रदै गयो र सेवा नै अवरुद्ध भयो । 

सो २० वाटको लेजरले काम नदिएपछि डा अनिल र भगवतीकै मिलोमतोबाट फेरि करोडाँ मा १२० वाटको युरो लेजर किनिएको थियो । त्यो मेसिनलेसमेत अहिले काम गर्दैन । 

अब भने तीन जनालाई कारबाही गर्नका लागि सम्बन्धित निकायमा पत्र लेखेरै छाड्ने वीरका कर्मचारीहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ