arrow

नागार्जुनको मेयरमा राजन कोइरालाको स्वतन्त्र उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
rajan-koirala.PNG

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कसैको निन्दा वा विरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताए । 

उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्देश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफूमा भएकाले उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।

‘विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आबद्धता नजनाई राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भने,’अब पनि देश विकासको पद्धतिमा परिवर्तन भएन भने हामी ठुलो दलदलमा फस्नेछौ, नेपाल अहिलेको श्रीलङ्काको अवस्थामा नपुग्ला भन्न सकिन्न।’

नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गर्ने समेत बताए । उनले भने,‘हाम्रो लडाई कुनै राजनीतिक दलसँग होइन प्रणालीको लागि हो । युवाहरूलाई रोजगारी दिन पर्‍यो । अरू कुरा चाहिएको होइन ।’

नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने पनि आफ्नो चुनावी घोषणापत्रमा समेटिएको कोइरालाले स्पष्ट पारे । नगरपालिकामा बसोबास गर्ने जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर सुलभ शिक्षा, स्वास्थ्य र मनोरञ्जनका विभिन्न समावेशी कार्यक्रम सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको सुनाए । 

उनले आफू नगरपालिकाको प्रमुखमा निर्वाचित भएमा नगरपालिकामा प्राविधिक शिक्षा र व्यावसायिक तालिम केन्द्रको स्थापनामा जोड दिने स्पष्ट पारे । उनले बेरोजगार युवाहरूलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्द्धन गर्ने पनि प्रतिबद्धता समेत व्यक्त गरे । नागरिकहरूको प्रत्यक्ष सहभागिता हुने गरी पाक्षिक ‘सार्वजनिक-सुनुवाइ’ कार्यक्रम सञ्चालन गर्ने पनि उनले उद्घोष गरे । घर-दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 

नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले अहिले सम्मका सबै राजनीतिक दलका नेताहरू आफू र आफ्नो परिवारको बारेमा मात्र सोच्ने गरेको आरोप लगाए । नागार्जुन नगरपालिकाका मतदाताले नगर विकासको लागि स्वतन्त्र उम्मेदवार राजन कोइरालालाई मत दिनपर्ने मा उनले जोड दिए । उनले भने,‘यो नगर विकासको लागि सुनौलो अवसर हो । अमेरिका बसेर पनि नेपालको विकास गर्न आउनुभएको कोइरालालाई मत नदिए नगरवासी पछुताउन पर्नेछ ।’

कोइरालालाई मत दिएर जिताउन सम्पूर्ण नगरवासीलाई बानियाँले आग्रह गरे । कोइरालालाई भोट नदिएमा नगरवासीहरुले राम्रो मान्छे गुमाउने पनि उनले जिकिर गरे । स्वतन्त्र उम्मेदवारलाई जिताएमा खामबन्दीको अन्त्य हुने पनि उनले जिकिर गरे । कोइराला निर्वाचित भएमा ५ वर्षको अवधिमा नगरमा आजसम्म नभएको विकास हुने उनले उल्लेख गरे । कुने दलको नभई समग्र नागर्जुनको परिवार भएर काम गर्न स्वतन्त्र उम्मेदवारी कोइरालाले दिन लागेको बानियाँले स्पष्ट पारे । 

२०४२ सालमा केवलपुर, धादिङमा जन्मेका कोइरालाले विगत एक दशकदेखि युवा सशक्तीकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन्। २०४७ मा आफ्नो परिवारसँगै काठमाडौं बसाइँ सरेका कोइरालाले पिपल्स क्याम्पसबाट पत्रकारिता र राजनीति शास्त्रमा आइएको स्वर्णपदक पाए लगतै उच्चशिक्षाको लागि अमेरिका गएका थिए। अमेरिकास्थित टेक्सस राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि २०६९ मा स्थायी रूपमा नेपाल फर्केका हुन्।

अहिलेसम्म ५० हजार बढी युवाहरूलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरूले सञ्चालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथि प्रशिक्षकका साथ-साथै अन्य स्वयंसेवी भूमिकामा छन्। सयौँ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन् ।

 स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक-निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल-व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवर्द्धन, प्राथमिकतामा राखेर बालबालिका तथा अपाङ्ग र ज्येष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ