arrow

सिँचाइ विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आजको बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

बैठकमा विधेयक माथिको छलफलमा रोशनबहादुर गाहा थापा, ओमकला गौतम, हरिबहादुर चुमान, जुनादेवी नेपालीले कृषिको आधुनिकीकरणका लागि सिँचाइ अपरिहार्य भएको बताउँदै त्यसको उचित व्यवस्थापनका लागि विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले जलस्रोत भएर पनि त्यसको उपयोग हुन नसकेका अवस्थामा त्यसको समुचित उपयोगका लागि पनि विधेयक महत्वपूर्ण हुने धारणा राखे । 

खेतीयोग्य जमिनको लागि सतह सिँचाइ, भूमिगत सिँचाइ वर्षे सिँचाइजस्ता आयोजनामार्फत कृषकलाई राहत प्रदान गरिने उनले बताए । बैठकले गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।

यसअघि उक्त विधेयक माथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य प्रभा कोइराला, विष्णुप्रसाद लामिछाने, खिमविक्रम शाही र लक्ष्मी सुनारले प्रदेशवासीलाई स्वस्थ, स्वच्छ खानेपानीको व्यवस्था गर्न जरुरी भएको बताए । 

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी र विशेष समयमा ललितकला गुरुङ र पियारी थापाले समसामयिक विभिन्न विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराए ।

आजको बैठकमा यसअघि प्रदेशसभाका विभिन्न बैठकमा सदस्यले उठाएका विभिन्न प्रश्न सम्बन्धमा शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेल, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले आफ्ना धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ