arrow

काठमाडौंमा नेतृत्वलाई भेटेर फर्किए महोत्तरीका कांग्रेस नेताहरू 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
congress-mahottari-2078-12-27.jpg
तस्बिर–महोत्तरी कांग्रेस सभापति नागेश्वर यादव (बायाँ) र चिरञ्जीवी हमाल ।

महोत्तरी । आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका छन् ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्व महासमिति सदस्य चिरन्जीवी हमाललगायतका नेताहरू छलफलपछि आइतबार जिल्ला फर्किने क्रममा छन् । १५ वटै स्थानीय तहका सभापति, नेता, कार्यकर्ताहरूसँगको छलफलपछि केन्द्र पुगेका नेताहरूले जिल्लाका केही पालिकाहरू गठबन्धनको विपक्षमा रहेको रिपोर्ट गरेका थिए ।

केन्द्रमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र डा शशांक कोइराला, लगायतका नेताहरूसँग गठबन्धनको विषयमा छलफल भएको सभापति यादवले जानकारी दिए । जिल्लाका केही पालिकाहरूले गठबन्धन नगर्ने सम्बन्धमा निर्णय गरे पनि पार्टीको नेतृत्व तह भने गठबन्धन गर्नुपर्ने पक्षमा रहेको सभापति यादवको भनाइ छ ।

‘हामीले रिपोर्ट गरेपछि छलफल भइरहेको छ गठबन्धन त हुन्छ नै तर, कसरी र कुन मोडालिटीमा जाने भन्ने विषयमा निश्कर्ष निक्लेको छैन ।’ सभापति यादवले भने ।

नेता चिरन्जीवी हमालले पनि पार्टी गठबन्धनकै पक्षमा रहेको बताए ।  ‘गठबन्धन गर्नु भन्ने निर्देशन हुँदाहुँदै हामी त्यसलाई नकार्न पनि त सक्दैनौँ,’ हमालले भने ।

शनिबार मात्र गठबन्धन नगर्ने निर्णय गरेका बर्दिबास कांग्रेसमा पनि अलमल सिर्जना भएको छ । शीर्ष नेताहरूलाई भेटघाट गरेर फर्किएका नेताहरूले गठबन्धन हुने संकेत गरेपछि स्थानीय नेता कार्यकर्तामा पुनः निराशा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ