arrow

जसपाको बटमलाइनः कम्तीमा दुई वटा महानगरपालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
JasAPA.png

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सत्तारुढ गठबन्धनसँग कम्तीमा दुई वटा महानगरपालिका तथा छ वटा उपमहानगरपालिकालाई आफ्नो बटम लाइन बनाउने भएको छ ।  जसपाका कार्यकारिणी समितिका सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य मृगेन्द्रसिंह यादवले स्थानीय तहको निर्वाचनमा पार्टीले कम्तीमा २ वटा महानगरपालिका र ६ वटा उपमहानगरपालिका मागेको बताए । 

उनका अनुसार पार्टीले माग गरेका महानगर तथा उपमहानगर तराई मधेसका रहेका छन् । जसपाका एक नेताले भने, ‘वीरगञ्ज र विराटनगर महानगरपालिका हाम्रो दाबी छ । वीरगञ्ज हामी कुनै पनि अवस्थामा छाड्दैनौं । बरु गठबन्धन छाड्छौं, वीरगञ्ज छाड्दैनौं ।’ जसपाले माग गरेको ६ वटा उपमहानगरपालिकामा जनपुुर, जितपुर सिमरा, कलैयालगायत रहेको यादवले बताए । 

जसपाका कार्यकारिणी समितिका अर्का सदस्य मनिष समुनले मधेसका सबै महानगर तथा उपमहानगरमा पार्टीले दाबी गरेको बताए । कार्यकारिणी समितिका सदस्य मृगेन्द्र सिंह यादवका अनुसार पछिल्लो स्थानीय निर्वाचनमा नेकपा (एमाले) ले जितेका स्थानीय तहमा सत्तारुढ दलहरूले गठबन्धन गर्ने तर सत्तारुढ दलहरूले जितेका स्थानीय तहमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने विकल्पमा पनि सत्तारुढ दलहरूबीच छलफल भइरहेको छ । 

चुनावी एजेण्डा तथा रणनीति तय गर्न जसपाको बिहीबार हेडक्वार्टरको बैठक बसेको थियो । हेडक्वार्टरमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई छन् । 

बैठकमा सहभागी यादव बुधबार मधेसबाट काठमाडौं आएका थिए । जसपाले तराई मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीसँग भने सहकार्य नगर्ने भएको छ । 

जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले स्थानीय तहको निर्वाचनमा एमाले र लोसपासँग सहकार्य नगर्ने पार्टीले नीति बनाएको प्रष्ट पारे । 

करिब ७ महिनाअघि जसपामा विवाद भइ महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेका थिए । 

लोसपा गठन भए यता जसपा र लोसपाबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा छ । स्थानीय निर्वाचनमा दुवै पार्टीले एक अर्कोसँग सहकार्य नगर्ने घोषणा गरेका छन् । 

स्थानीय तहको जसपासँग सहकार्य हुने सम्भावना निकै कम भएको लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले बताए ।  

उनका अनुसार आवश्यकता हेरेर स्थानीय तहले अन्य पार्टीहरूसँग गठबन्धन गर्ने पार्टीको नीति छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ