- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धन गर्ने नगर्ने विषयलाई खुला गरेको छ । माओवादी केन्द्रले सोमबार राति जारी गरेको आन्तरिक परिपत्रमा दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने भन्दै गठबन्धनलाई अनिवार्य नगरेको हो ।
माओवादी पार्टीले गठबन्धन वा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने तर केही स्थानमा गठबन्धन हुन नसक्ने अवस्था आएमा स्थानीय तहबाटै निर्णय गर्ने अधिकारसहित निर्देशन जारी गरेको हो ।
‘स्थानीय तहका कार्यकर्ताहरुले एमालेसँग मिलेर जाने अवस्था रहेको स्थानमा एमालेसँगै मिल्नुपर्ने बताएकाले यस्तो निर्देशन जारी गरिएको हो’, माओवादी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार गण्डकी, लुम्बिनी र प्रदेश १ का अधिकांश स्थानमा माओवादीले एमालेसँग अनौपचारिक रुपमा तालमेल गर्न सक्ने अवस्था रहेका कारण यस्तो निर्देशन जारी गर्नु परेको हो ।
‘गठबन्धनकै दलहरुबीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृति लिनुपर्नेछ’, स्रोतले भन्यो ‘कांग्रेसले छाड्ने अवस्था नआएपछि बाध्य भएर यस्तो निर्देशन जारी गर्नु परेको हो ।’
स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि अध्यक्ष प्रचण्डले सोमबार पार्टी पंक्तिमा यस्तो निर्देशन जारी गरेका हुन् । सोमबार सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठकपछि खुमलटार पुगेर प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेशमा एमाले र माओवादीबी च कार्यगत एकता हुन सक्ने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउँदै आएका छन् । त्यस्तै माओवादी नेता वर्षमान पुनले पनि एमालेसँगको तालमेल र गठबन्धनमा पार्टी जान सक्ने बताउँदै आएका छन् । पुनले एमाले नेताहरुसँग धेरै पटक कुराकानीसमेत गरेको स्रोतको दाबी छ ।
सोमबार साँझ सत्ता गठबन्धनमा रहेका दलहरुले देशभर ठाउँ र आवश्यकताअनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न गठबन्धनमा रहेका दलका नेता कार्याकर्तालाई संयुक्त अपील जारी गरे लगत्तै प्रचण्डले खुमलटार पुगेर आफ्नो पार्टी पंक्तिलाई विशेष निर्देशन जारी गरेका थिए ।
सत्तागठबन्धन दलले नयाँ संविधान जारी भएपछि पनि परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनविरुद्ध अझै पनि षड्यन्त्रमा रहेको, र संविधानको उल्लंघन गदै संसदमाथि निरन्तर प्रहार, अदालतमाथि खेलवाड र सम्वैधानिक अंगहरुमा पैदा गराइएको वेथितिले त्यसको पुष्टि गरेको भन्दै सत्ता गठबन्धन दलले चुनावी तालमेल गरेर जाने निर्णय गरेका थिए ।
त्यसका लागि सत्तागठबन्धन दलको मंगलबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ ।
माओवादी नेतृत्वले तल्लो तहलाई भन्दा पनि भरतपुर महानगरपालिका लगायतका केही स्थानमा मात्रै कांग्रेससँग गठबन्धन गर्ने सोच बनाएको स्रोतको दाबी छ ।
अन्य स्थानमा जोसँग मिल्दा फाइदा हुन्छ उतै मिल्ने गरी कार्यकर्तालाई निर्देशन जारी गरेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको अन्तिम टुंगो केन्द्रीय कार्यालयले गर्ने निर्णय सहितको परिपत्र पार्टी पंक्तिमा गरेको छ ।
प्रचण्डले जारी गरेको परिपत्रमा महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पार्टीको प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ ।
‘माओवादी अध्यक्ष प्रचण्डको ध्यान चितवनमा मात्रै रहको छ अन्य स्थानमा खास ध्यान गएको देखिन्न, सत्ता गठबन्धनले देशभर नै तालमेल गर्नुपर्ने स्थिति रहेको बेला गठबन्धनलाई अनिवार्य शर्त बनाइएको छैन’, माओवादीका एक उच्च नेताले भने ।