arrow

तिलोत्तमामा महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
Pradarshan.jpg.jpg

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ ।

बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए ।  माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विष सेवन गरी आत्महत्या गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो । ‘किटनाशक विष सेवन गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले हत्या भएको भनिरहनुभएको छ’ प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्षअघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाई छ । कर्तव्य ज्यानमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डीएसपी पौडेलले बताए । 

अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ । तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने  र हातपात गर्ने गरेका थिए ।

बुधबार राती ९ः३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेकोसमेत खत्रीले बताएका छन् ।



नयाँ