arrow

एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने, शुक्रवार मतदान हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
Uml_pokhara_metro.jpg
फाइल तस्बिर

पोखरा। नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार खोज्ने भएको छ। लामो छलफलमा समेत सहमति नभएपछि शुक्रवार मतदानको तयारी गरिएको हो। मनोनयन समेत शुक्रवार नै हुनेछ। यसअघि आकाङ्क्षाका रूपमा नाम टिपाएकाहरू बाहेकले समेत मनोनयन गर्न पाउने छन्। सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ।

एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो। निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रवार बिहान मनोनयनको कार्यक्रम छ। यसअघि मङ्गलवार आकाङ्क्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो।

मेयरमा १२ जनाले आकाङ्क्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो। मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, महानगरका पूर्व अध्यक्ष दीपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मि आचार्य र प्राडा विश्व कल्याण पराजुलीले आकाङ्क्षा देखाएका थिए।

उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुङ्गाना, टिकाराम पंगेनी, व्यवसायी सञ्जीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए।

आकाङ्क्षीहरूले पुन : मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन्। एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ। बैठकका सहभागीहरूले कडा रूपमा उनीहरूको विरोध गरेको एक नेताले बताए। ‘बहालवाला सांसदको कार्यकाल अझै आधा वर्ष बाँकी छ। उही मान्छेलाई तानेर मेयर बनाउने कुरा राम्रो हुन सक्दैन,’ ती नेताले भने, ‘सांसदलाई मेयर उपमेयरको टिकट दिन हुँदैन। सबैको आवाज त्यसैमा केन्द्रित भएको छ।’

२०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै मेयर र उपमेयरको नाम टुङ्ग्याइएको थियो। मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट पाएका हुन् भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याए पनि भेग र जातीय हिसाब मिलाउनुपर्ने भएकोले दोस्रो नम्बरमा सिफारिस भएकी गुरुङले टिकट पाएकी हुन्।

अहिले पनि मतदाताबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ। दुवै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ। मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ