arrow

एमालेबाट पोखरा मेयरमा आकाङ्क्षी सबैको नाम जिल्ला पठाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
uml-sun-election.jpg
फाइल तस्बिर

पोखरा। एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नौ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्य तालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो । 

‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो । हलको बहुमत सर्वसम्मत सिफारिसमा आएपछि मतदान प्रक्रियामा लैजान सकेनौँ,’ महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले भने, ‘अहिलेको अवस्थामा अरूसँग प्रतिस्पर्धा गर्नुपर्नेमा हामीबीचमै चुनाव हुँदा मन बाझिन सक्ने अवस्था टारेर सर्वसम्मत सिफारिस गरेका हौँ ।’

उनले सर्वसम्मत निर्माण हलको दबाब भने पनि बैठक कक्षबाट निस्किएका अधिकांशले गलत बाटो अपनाएको भन्दै आक्रोश पोखेका छन् । ‘वडाबाट सिफारिस हुँदा तीन जनाभन्दा बढी नलिने महानगर कमिटीले आफ्नो सिफारिस चाहिँ यति धेरै गर्न मिल्छ ?,’  उनीहरूले भने, ‘केन्द्रको निर्देशनमा यो काम भएको छ । आफ्ना मान्छेले आन्तरिक चुनावमा नजित्ने देखेपछि सर्वसम्मतको नाटक गरियो ।’ 

कतिपय आकाङ्क्षीसमेत मतदानको पक्षमा थिए । एक आकाङ्क्षी दर्शन लामाले भने, ‘जे भइरहेको छ, यो गलत हो । मतदान गरेर जसले जित्छ उसैको नाम पठाएको भए हुन्थ्यो ।’ उनले आन्तरिक प्रतिस्पर्धालाई गलत हिसाबले लिन नहुने तर्क गरे । गत मङ्गलवार मेयर र उपमेयरको आकाङ्क्षीको नाम टिपेर पनि शुक्रवार पुनः मनोनयन गरिएको थियो । 

चार दिनसम्म सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेदवार खोज्ने भनिएकोमा सबैको नाम माथिल्लो निकायमा पठाइएको हो । मङ्गलवार मेयरमा १२ र उपमेयरमा ११ जनाले आकाङ्क्षा देखाएका थिए । आज मनोनयन भने आकाङ्क्षीबाहेक अरूले पनि गरेका थिए । 

मेयरमा केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।

उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, वामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ र सुष्मा पौडेलले उम्मेदवारी दिएका थिए । यसअघि आकाङ्क्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङले भने मनोनयन दर्ता गरेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ