- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ। विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिए लगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम सुरु हुन थालेको हो।
भरतपुर महानगरपालिकामा मेयर पुनः नेकपा माओवादी केन्द्रले पाउने भएपछि काँग्रेसका जनप्रतिनिधिद्वारा विद्रोहको चेतावनी, पर्सा काँग्रेस द्वारा गठबन्धन नगर्ने निर्णय सार्वजनिक, बाँकेमा जनता समाजवादी पार्टी बाँकेमा गठबन्धनबाट बाहिरिएको घोषणा, डोल्पामा सहमति नहुँदा अलग अलग निर्वाचनमा जाने निर्णयको तहमा पुगेका छन्।
रोल्पा र रुकुममा काँग्रेस र नेकपा एकीकृत समाजवादीले धेरै भागबन्डा खोजेको भन्दै माओवादीको असन्तुष्टि र सङ्खुवासभामा गठबन्धनबाट काँग्रेस बाहिरिएको घोषणालगायतको दृश्यले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयलाई स्थानीय तहले मन नपराएको देखिन्छ।
प्रचण्डको गृह नगर भरतपुरमा काँग्रेस–माओवादी सङ्घर्ष
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रीय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ। नेकपा एमालेले भरतपुर महानगरपालिकाका लागि प्रदेश सांसद विजय सुबेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन्।
केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको भागमा परेपछि मुख्यतः काँग्रेस जनप्रतिनिधिहरूले आपत्ति जनाउँदै आएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले भरतपुर पुनः माओवादीलाई दिने निर्णय लिन खोजेपछि काँग्रेस जिल्ला कमिटी नै काठमाडौँमा ‘डेलिगेसन’ आएर आपत्ति जनाएको थियो भने सो निर्णयपछि पनि वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा गत मङ्गलवार जिल्ला पार्टी कार्यालय कमल नगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गर्दै माओवादी केन्द्रलाई दिएको खण्डमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ।
‘वडा सभापतिको संयुक्त निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने निर्णय भइसकेको छ, हामी तयारीमा जुटिसक्यौँ,’ तामाङले निर्णयपछि भन्दै आएका छन्। उनका अनुसार बैठकको सो निर्णय केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरणसमेत गरिसकेका छन्।
गत निर्वाचनमा काँग्रेस र माओवादीबिच गठबन्धन हुँदा भरतपुरबाट माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन।
पर्सा काँग्रेसको निर्णय : गठबन्धन मान्दैनौ– एक्लै लड्छौँ
पर्सा काँग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ। केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगन्ज महानगरपालिका स्वीकार गर्न नसकिने भन्दै पर्साका १४ वटै स्थानीय तहमा एक्लै चुनाव लड्ने जिल्ला कङ्ग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन्।
नेपाली काँग्रेस वीरगन्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ, क्षेत्र नं–१ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेशसभा क्षेत्र नम्बर १ का र २ का सभापतिहरूले पत्रकार सम्मेलन नै गरेर गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन। गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगन्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘जिल्लामा रहेका वीरगन्ज महानगरपालिकासहित सबै १४ वटा पालिकामा नेपाली काँग्रेसले अन्य दलसँग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ जिल्ला उपसभापति रामनारायण कुर्मीले भने, ‘नेपाली काँग्रेसले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय गरेको छ।’
जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न सो बैठकमा केन्द्रीय सदस्य द्वय रमेश रिजाल र अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्रप्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, मधेस प्रदेशका मन्त्री ओमप्रकाश शर्मालगायतको उपस्थित रहेको सो बैठकले निर्णय गरेको थियो।
डोल्पा : गठबन्धन गर्न नसकिने निर्णय गर्दै केन्द्रलाई पत्र
काठमाडौँबाट पाँच दलीय गठबन्धन बनाउन निर्देशन दिए पनि डोल्पामा भने गठबन्धन नगरी अलग–अलग निर्वाचन लड्ने निर्णय नै गरिएको छ। काँग्रेस पार्टी सभापति तथा जिल्ला स्तरीय संयन्त्रका संयोजक दीपेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्न नसकिने भन्दै केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय नै गरेको छ।
रौतहट : माधव नेपालको गृह नगरमा काँग्रेस विपक्षमा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर रौतहटको चन्द्रपुरमा काँग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको छ। नगर सभापति मुकेश गिरीको सभापतित्वमा बसेको बैठकले काँग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा लड्ने निर्णय लिएको हो। जसअनुसार भावी नगरप्रमुखका लागि चन्द्रपुरबाट काँग्रेसले १२ जना आकाङ्क्षी को नाम सार्वजनिक गरिसकेको सभापति गिरीले जानकारी दिएका छन्।
सङ्खुवासभा : चार दिनसम्म पनि सहमति नभएपछि बैठक
खाँदवारिमा चार दिनसम्म बसेको पाँच दलीय गठबन्धनले कुनै निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन टुटेको काँग्रेस सभापति दीपक खडकाले घोषणा गरेका छन्। चार दिनसम्म बसेको बैठकमा दलहरूले दाबी नछाडेपछि माओवादी केन्द्र छलफलको प्रक्रियाबाट नै बाहिरिए पछि सङ्खुवासभामा गठबन्धनको सम्भावना टरेको हो।
बाँके : गठबन्धन छाडेर जसपा एक्लै निर्वाचनमा
नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले दाबी नछाडेपछि जसपा नेपाल गठबन्धनबाट बाहिरिएको छ। एमालेले पशुपतिदयाल मिश्रलाई नेपालगन्जको भावी मेयरको उम्मेदवार घोषणा गरिसक्दा पनि गठबन्धनभित्रका दलहरू मुख्यतः काँग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनमा समस्या देखा परेको हो। जसपा नेपालका जिल्ला अध्यक्ष कमरुद्धिन राईका अनुसार नेपालगन्ज जसपालाई छुट्टाएर एमालेले जितेका स्थानीय तहमा भागबन्डा गरेर जाने प्रस्तावलाई काँग्रेसले अस्वीकार गरेपछि गठबन्धनबाट बाहिरिनु परेको हो।
मोरङ : विराटनगर काँग्रेसलाई दिए जसपाले अस्वीकार गर्ने
मोरङका १७ मध्ये नेपाली काँग्रेस एक्लैले विराटनगर महानगरपालिकासहित १० स्थानीय तहको नेतृत्वमा दाबी गरेपछि पाँच दलीय गठबन्धनमा भागबन्डा टुङ्ग्याउन निकै सकस परेको छ। यसअघि काँग्रेसले विजयी हासिल गरेको विराटनगर महानगरपालिकाको भावी नेतृत्वका लागि काँग्रेस र जसपा नेपाल दुवैले दाबी गरिरहेका छन्। काँग्रेस र जसपा नेपाल जसले पाए पनि स्थानीय तहमा एउटा दल भने विद्रोहमा निस्कने लगभग देखिएको छ।
उता, मोरङका १७ वटा स्थानीय तहमध्ये काँग्रेसले १० वटा, माओवादी केन्द्रले ६ वटा नेकपा एस र जसपा नेपालले ४–४ स्थानीय तहमा दाबी गरेपछि गठबन्धनमा सकस भएको छ। काँग्रेसले अत्यधिक स्थानीय तहमा दाबी गरेपछि माओवादी केन्द्र र नेकपा एसले अलग्गै गठबन्धन बनाएर जाने सम्भावना देखिएको स्थानीय नेताहरूले बताएका छन्।
केन्द्रमा निर्णय गरे पनि स्थानीय तहमा गठबन्धन गराउन सकस देखा परेपछि काँग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। अपराह्न २ बजे बस्ने बैठकले ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकाको भागबन्डा र भावी नेतृत्वका लागि आवश्यक निर्णय लिँदै छ भने चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको मेयरका बारेमा चाँडै निर्णय हुने घोषणा गरेका छन्। कारखाना