एजेन्सी। चीन र भारतमा आयोजना हुन लागेको क्रमश “जी २०” र “ब्रिक्स” सम्मेलनमा यी दुई मुलुक आपसी सहयोग गर्न एकअर्कामा सहमत भएको भारत र चीनका संचार माध्यमहरुले बताएका छन्।
समाचार एजेन्सी सिन्वाले बताए अनुसार शनिबार नयाँ दिल्लीस्थित भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेश मन्त्री वाङ वाइबीच भएको भेटवार्तामा दुईपक्षबीच उक्त सहमति भएको हो। भेटमा कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को महिना चीनमा आयोजना हुन लागेको जी २० सम्मेलन र अगामी अक्टोवरमा भारतमा आयोजना हुन लागेको ब्रिक्स सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन भारत र चीन मिलेर पारस्परिक सहयोग बढाउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री मोदीले पछिल्लो समय हरेक विकासका क्षेत्रमा चीनले हाँसिल गरेको उपलब्धिले भारत खुशी रहेको बताएका छन्। मोदीले भारत र चीनबीचको सहयोगले अन्य विकासशील मुलुकहरूमा समेत लाभ हुने बताए। भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ वाइले पछिल्लो समय चीन र भारतबीचको सम्बन्धले राम्रो गति लिएको र सबै क्षेत्रमा तीब्र प्रगति हाँसिल गरेको बताएका छन्। वाङले चीनले भारतको विकास र उन्नतिलाई जहिल्यै स्वागत गर्ने बताए। भारतलाई क्षेत्रीय र अन्तराष्ट्रिय सम्बन्धमा थप सकारात्मक भूमिका निर्वाह गर्न चीनले सधै सहयोग गर्ने समेत बताए।