- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन। नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन्। भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए।
शुक्रवार चितवन आएका काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताएका थिए। सिंहको भनाइले जिल्लामा पुनः तरङ्ग ल्याएको छ।
भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि काँग्रेसले पाउनुपर्ने खनालले दोहोर्याए।
‘काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ। म काँग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु। तर, निर्णय मान्ने हो कि निष्कर्षमा पुग्ने हो। जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकूल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रूपमा जिम्मा लिनुपर्छ,’ उनले भने।
चितवन काँग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकिएको उनले बताए।
नजिता सकारात्मक आउने तरिका यो हो भनेर चितवन काँग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए।
‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेर अघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुपर्यो । ग्राउन्ड सुहाउँदो हुनुपर्यो,’ उनले भने।
नेपाली काँग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उनले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहीन काम भएको बताए।
विगतमा गरेको सहयोग र वर्तमान सङ्गठनको हिसाबले भरतपुर महानगरले मेयर काँग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने काँग्रेसको संस्थागत निर्णय रहेको उनले बताए।
त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए। ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन। एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सधैँ खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उनले भने।