arrow

मधेसमा पकड जोगाइराख्न मधेसी नेताहरूको दौडधुप

logo
आकाश शर्मा,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
jasapa2.JPG
फाइल तस्बिर

काठमाडौँ। मधेस प्रदेशमा आफ्नो पकड जमाएका तराई-मधेस केन्द्रित दलका नेताहरू प्रभाव जोगाइ राख्न दौडधुप सुरु गरेका छन्। अहिले मधेसी नेताहरू मधेसमै छन्। शीर्ष नेताहरू प्राय सबै लुम्बिनी र मधेस प्रदेशका विभिन्न जिल्लामा व्यस्त छन्। काम विशेष पर्‍यो भने एक दिन या दुई दिन कोलागि मात्र काठमाडौँ आउँछन्।

काठमाडौँ आउने बित्तिकै मधेस फर्कने गरेका छन्। जनता समाजवादी पार्टीले चुनाव अवधिभर मधेसका विभिन्न पालिका नछाड्न पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई उर्दी नै जारी गरेको छ। पार्टीका कार्यकारिणी समितिका सदस्य मनिष समुनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकता भएको पालिका या आफूले चाहेको एउटा पालिकामा चुनाव अवधिभर अनिवार्य रूपमा पालिकामै बस्न उर्दी जारी गरिएको छ। उनले भने,‘केन्द्रीय सदस्यहरू एक दिन पनि पालिका छाड्न पाउँदैनन् तर कार्यकारिणी समितिका सदस्यहरू भने पार्टीको काम पर्‍यो भने या बैठकमा सहभागी हुन एक-दुई दिन कोलागि काठमाडौँ या अन्य ठाउँमा जान सक्छन्।’

जसपामा ३५ जना कार्यकारिणी र ४ सय ९३ जना केन्द्रीय सदस्य छन्। एउटा पालिकामा २ वा २ भन्दा बढी केन्द्रीय सदस्यहरू भएमा आपसी सहमतिबाट पालिका रोज्ने अधिकार केन्द्रीय सदस्यलाई दिइएको  सुमनले बताए।

जसपा अध्यक्ष उपेन्द्र यादव लामो समय पछि बिहीबार काठमाडौँ आएका छन्। उनी २ दिनमै फेरि मधेसमा फर्कने भएका छन्। सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र शीर्ष नेता अशोक राई भने त्यति मधेसमा जाने गरेको छैनन्। मधेस उनीहरूको गृह जिल्ला होइन। ‘डा.भट्टराई र राई बाहेक प्राय सबै नेता मधेसमै हुनुहुन्छ’जसपाका अर्का एक नेताले भने।

केन्द्रीय तहमा जसपाले सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने निर्णय गरे पनि कैलाली र नेपालगन्जमा गठबन्धनलाई पार्टीले स्वीकार गरेको छैन। कैलालीमा छुट्टै गठबन्धन गरेको छ। जसपाका नेताका अनुसार स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा बलियो हुन जसपाका नेताहरूले विभिन्न रणनीति बनाइरहेका छन्।

जसपाले वरिष्ठ नेता राईको संयोजकत्वमा १८ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। जसपाको जस्तो दौडधुप नभए पनि लोसपाका नेताहरू पनि मधेसमै व्यस्त छन्। लोसपाका अध्यक्ष महन्थ ठाकुर अस्वास्थ्यको कारण काठमाडौँमा छन्। उनी बाहेक लोसपाका अधिकांश नेता मधेसमै छन्। 

लोसपाकाले केही दिन अघि उम्मेदवार चयन गर्न मधेस प्रदेशका ८ वटै जिल्लामा पार्टीका सांसदहरूलाई एक-एक गरी खटाएको थियो। ‘अब कार्यकारिणी समितिका सदस्यहरूलाई पनि प्रत्येक पालिका त्यो सम्भव नभए प्रत्येक जिल्लामा जिम्मेवारी दिई खटाउन जरुरी भइसकेको छ’लोसपाका कार्यकारिणी समितिका सदस्य राजीव झाले भने,‘अब ढिलो भइसकेको छ। चुनाव आउन लागिसक्यो। त्यसैले पार्टीले चाँडै निर्णय गर्नु पर्छ।’

जसपा र लोसपाका भोट बैङ्क विशेष गरी मधेसमै छ। त्यसैले यी दुई पार्टीले आफ्नो सबै ध्यान तराई मधेसमै लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ