arrow

निर्वाचनमा आवश्यकता अनुसार तालमेल हुन्छ : महामन्त्री शर्मा

काँग्रेसले घोषणापत्र मार्फत बाचा गरेका विषय पूरा गर्छ : केन्द्रीय सदस्य शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
bishow-prakash-sharma-thori.jpg

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने बताएका छन्। नेपाली काँग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत् कार्यकर्ता भेलामा महामन्त्री शर्माले काँग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय स्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए।

“संविधान रक्षा गर्ने दलहरूसँग काँग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि काँग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उनले भने। उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे। महामन्त्री शर्माले काँग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीन वटा सरकार काँग्रेसले चलाउने गरी काँग्रेस अगाडि बढ्ने बताए। उनले काँग्रेस भाषण भन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा काँग्रेसले जित्ने बताए।

देश विकासको नेतृत्व काँग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता (एमसिसी)बारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए। “एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाउने काम भएको छ, काँग्रेसले कुनै पनि देशको सैन्य रणनीति स्विकार्दैन”, उनले भने। काँग्रेसले विदेशमा बिजुली निर्यात गरेर देशलाई समृद्ध बनाउन खोजेको उनको भनाइ थियो।

काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले घोषणापत्र तयार गरेको जानकारी दिँदै काँग्रेसले बाचा गरेका विषय पूरा गर्ने बताए। उनले तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिएको बताउँदै आवश्यकताका आधारमा तालमेल हुने उल्लेख गरे। 

काँग्रेस नेता एवं पूर्व मन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताए। उनले दबाबको आधारमा गठबन्धन नहुने स्पष्ट पारे। काँग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले विसं २०४६ पछि ठोरीमा काँग्रेसको पक्षमा जनलहर आएको भन्दै यसलाई गुम्न दिन नहुने बताए। कार्यक्रममा ठोरी गाउँपालिकाका दुई दर्जनभन्दा बढी युवा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ