arrow

नोबेलमा अप्रेसन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्युमर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
tumor-nobel-hospital.jpg

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको अप्रेसन गरेर दुर्लभ तथा जटिल ट्युमर सफलतापूर्वक निकालिएको छ। झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्सिया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातीसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्युमर’ अप्रेसन गरेर सफलतापूर्वक निकालिएको हो।

नोबेलका टाउको तथा घाँटी क्यान्सरका वरिष्ठ शल्य चिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरूको टोलीले सफलतापूर्वक ट्युमर निकालेको हो । नोबेलको हाडजोर्नी विभागका डा.रञ्जिव झा, नाक कान घाँटी विभागका डा.सञ्जीव कुमार ठाकुर, छाती सम्बन्धी शल्य चिकित्सक डा.लोकेश यादव लगायत पनि शल्यक्रियामा सहभागी थिए। यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्युमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको डा.ठाकुर बताउँछन् । ‘झन्डै एक लाख मान्छे मध्ये करिब एक जनामा मात्र यस्तो ट्युमर पाइन्छ, त्यो पनि यत्तिको ठुलो विरलै मात्र भेटिन्छ, नेपालमा हालसम्म यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्युमर सफलतापूर्वक निकालेको रेकर्ड भेटिएको छैन,’ डा.ठाकुर भन्छन्, ‘हामीले नेपालमै पहिलो पटक यस्तो जटिल ट्युमर निकालेका हौँ ।’

घाँटीको माथिल्लो भागदेखि करङसम्म काटेर झन्डै १७ सेन्टिमिटर लामो ट्युमर सफलतापूर्वक निकालिएको हो । चिकित्सकहरूका अनुसार घाँटी हुँदै हातसम्म फैलिने नसाहरूसँगै पलाएकाले सो ट्युमर निकाल्दा नसामा चोट लाग्ने सम्भावना धेरै हुन्थ्यो । जसका कारण हात नचल्ने जोखिम थियो । तर, सफलतापूर्वक ट्युमर निकालिएपछि अहिले मालतीको हात सामान्य अवस्थामा छ ।

करिब एक वर्षअघिदेखि उनको घाँटीको पछाडिपट्टिको भागमा मासुको डल्लो पलाएको थियो । छाम्दा निकै कसिलो भेटिने डल्लो बढ्दै गएर छातीसम्म फैलिएको हो । ट्युमर बढ्दै गएपछि मालतीलाई हात उचाल्न गाह्रो हुँने, घोच्ने र चस्किने समस्याले सतायो । पूर्वका विभिन्न अस्पतालमा जाँदा अप्रेसन गर्न नमानेपछि अन्ततः नोबेलमा ल्याएर अप्रेसन गराइएको मालतीका श्रीमान् राजकुमारले बताए । अप्रेसन सफल भएर समस्या टरेपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ