arrow

तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
govinda-raj-joshi1.jpg
फाइल तस्बिर

तनहुँ। ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ।

एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो। तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ। दुवै पक्षबाट चार-चार जना सदस्य रहने गरेर समिति गठन भएको हो।

शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए। ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ। सहकार्यका लागि दुवै पक्ष सकारात्मक छौँ,' उनले भने।

कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेको छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबन्डा हुने उनको भनाइ छ। ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबन्डा हुनेछ,' उनले भने।

काँग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशी पुत्र दीपराज जोशीको प्रस्टोक्ति छ। ‘काँग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र ? बुवालाई नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दा खेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन। पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,' उनले भने।

जोशी पुत्र दीपकराजले व्यास नगरपालिकाको मेयरमा उम्मेदवार दिने घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका छन्। उनले नेपाली काँग्रेसमा पनि मेयरको आकाङ्क्षीमा नाम टिपाएका थिए। तर, पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन। जोशीले दिएको जानकारी अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ। जोशी समूहको पकड व्यास र भानुमा बढी छ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ। गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहनेले काँग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आङ्कलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतिले तनहुँको राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।

१० साउन २०७६ मा नेपाली काँग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो। काँग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो।

जोशीले हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई सघाएको आरोप छ। जोशीले यस अगाडि जिल्लाका गाउँ गाउँमा पुगेर कार्यकर्ता भेटघाटको क्रममा सम्मानजनक व्यवहार नगरे तनहुँ काँग्रेसलाई सवक सिकाउने चेतावनी दिँदै आइरहेका थिए। कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ