arrow

पोखराबाट अटेरी अभियान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
parties-reject-campagain-2079.jpg

पोखरा। स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेदवार उठाउनुपर्ने एजेन्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ। पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेदवारी घोषणा गरिसकेका छन्।

साहित्यकार तथा लेखक गणेश पौडेलले अघिल्लो स्थानीय निर्वाचनपछि स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने एजेन्डा स्थापित गर्ने सोच बनाए। त्यसपछि निरन्तर नजिकका साथीहरूसँग छलफल गरेर पोखरा महानगरपालिकामा आफैँले मेयर पदको उम्मेदवारका रूपमा घोषणा गरे।

‘४/५ वर्षदेखि मैले यसको डिजाइन गरिरहेको थिएँ। दलका भ्रष्ट नेताहरू विरुद्ध आवाज कसरी उठाउने भनेर धेरै सोचे। त्यही सोचको उपज हो, अटेरी अभियान,’ उनले भने, 'आज देशभर नराम्रा कुरामा हाम्रा साथीहरूले अटेर गर्नुभएको छ। दलहरूलाई प्रेसर बढेको छ।’

अहिले देशभर चार हजार दुई सय ८७ जनाले अटेरी उम्मेदवारी घोषणा गरिसकेका छन्। पोखरा महानगरपालिकाभित्रै १५ वटा वडामा अध्यक्षका उम्मेदवार निस्किएका छन् भने कास्कीका अन्य पालिकामा पनि उम्मेदवारी घोषणा भइसकेको छ। अटेरी उम्मेदवारहरूले भूगोल र परिस्थिति अनुसारको कार्ययोजनापत्र सार्वजनिक पनि गरिरहेका छन्। दुई साताअघि पोखरामा देशभरका अटेरी उम्मेदवारहरू भेला भएर एकीकृत घोषणापत्र सार्वजनिक गरेका थिए।

‘जनप्रतिनिधि भनेको इमानदार हुनुपर्छ। आफ्नो पालिकालाई के बनाउने भन्ने बुझ्न सक्ने हुनुपर्छ,’ पौडेल भन्छन्, ‘पैसाका भरमा जस्ताले पनि चुनाव जित्ने हुँदा हाम्रो भविष्य नै बरबाद भयो। हामीले उनीहरूलाई अटेर गर्‍यौँ।’ तर अहिले दलहरूलाई पनि राम्रो उम्मेदवार उठाउनुपर्ने दबाब सिर्जना भएको उनी बताउँछन्।

‘मेरो पार्टीको उम्मेदवार राम्रो नभए गणेशले भोट काट्छ भन्ने सबैलाई लागेको छ। राम्रो उम्मेदवार खोजिरहेका छन्,’ उनले थपे, ‘हामी सही बाटोमा छौँ। पहिले जे गर्न खोजेका थियौँ अहिले त्यही भइरहेको छ।’

पार्टीका उम्मेदवारहरूले भेला, जुलुस, आमसभा, कार्यकर्ता भेटघाट, चुनावको नाममा जे पनि गर्न पैसाको खोलो बगाउन थालेकोले भ्रष्टाचार बढेको भन्दै इमानदार र राम्रा उम्मेदवारले विना पैसा चुनाव जित्ने आधार निर्माण गर्न अभियानको थालनी गरिएको पौडेलले बताए। अटेरी अभियानले आमसभा र र्‍याली नगर्ने घोषणा गरिसकेको छ।

मतदातासम्म पुग्न प्रविधिको प्रयोग गर्ने र चोक चोकमा पुगेर मतदातालाई घोषणापत्र बेच्ने कामको सुरुवात गरिएको छ। चुनावी खर्च चलाउनका लागि ३० रुपैयाँमा घोषणापत्र बेच्ने काम थालिएको अभियानले जनाएको छ।

दलको विचार नबोकी राजनीति गर्न सक्ने गरी अभियान निरन्तर चलाइरहने अटेरी समूहले जनाएको छ। चुनावी अभियानसँगै देशभर यसको सञ्जाल विस्तार भएको छ। बिस्तारै यसलाई पार्टीको रूपमा विकास गर्ने तयारी भइरहेको बुझिन्छ। ‘साथीहरूले पार्टी बनाएर लैजाऔँ भन्नुभएको छ। हामी यो चुनाव लगत्तै एउटा भेला गर्छौँ र छलफलको निष्कर्ष अनुरूप अघि बढ्छौँ,’ उनले भने, ‘पार्टीको रूपमा विकास हुन पनि सक्छ । तर, अभियान भने निरन्तर रहिरहन् ।’

अहिले अटेर गरेर उम्मेदवारी घोषणा गरेकाहरूलाई पार्टीले आफ्नो पार्टीबाट चुनाव लड्न भनेका छन् भने कतिपय ठाउँमा फिर्ता लिन दबाब दिइरहेको अभियानका सदस्यहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ