arrow

इस्मामा कांग्रेसको तर्फबाट खड्का अध्यक्षको उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
bharat-singh-khadka.jpg

गुल्मी । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको गुल्मी जिल्लामा निकै चहलपहल बढेको छ । स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्ममा को बन्ने भनेर धेरै उम्मेदवारको चर्चा भइरहेको बेला जिल्लाको इस्मा गाउँपालिकामा नेपाली कांग्रेस पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि भगत सिंह खड्कालाई सर्वसम्मत उम्मेदवार बनाउने भएको छ ।

वि.सं. २०६१ सालमा नेपाल विद्यार्थी सङ्घ रेसुङ्गा बहुमुखी क्याम्पसको इकाई सदस्य हुँदै राजनीतिक यात्रा शुरु गरेका हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव समेत रहेका खड्कालाई इस्मा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । 

उनी वि.सं. २०६३ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सचिव, वि.सं. २०६७ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सदस्य, वि.सं. २०६८ सालमा नेपाल तरुण दलको जिल्ला सदस्य, वि.सं. २०६९ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सह-सचिव, वि.सं. २०७२ सालमा कांग्रेसको क्षेत्रीय सभापति हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सचिव रहेका छन् ।

दुई नगरपालिका र दश गाउँपालिका गरि १२ वटा स्थानीय तह भएको यस जिल्लामा उनीसँगै नेपाली कांग्रेसको तर्फबाट हालसम्म तिन स्थानीय तहको प्रमुखको उम्मेदवारी सर्वसम्मत रूपमा टुङ्गो लागेको छ । जिल्लाको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व-सचिव समेत रहेका हरिनारायण सापकोटालाई नगर प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । 

छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति रहेका अनन्तराम पौडेललाई गाउँपालिका अध्यक्ष बनाउनको लागि सर्वसम्मत निर्णय गरेको छ । जिल्लामा सबै उम्मेदवारहरू गठबन्धनको निर्णय अनुसार तय गरिएको बताइएको छ । अन्य स्थानीय तहमा पनि छिट्टै नै सकेसम्म सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने गुल्मी कांग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ