arrow

जनप्रतिनिधिद्वारा सवारी-साधन फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
gadi firta.jpg
आफूले प्रयोग गर्दै आएको सवारी फिर्ता गर्दै शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईली ।

तनहुँ । तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न शुरुआत गरेका छन् । आशन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उनीहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न शुरु गरेका हुन् । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका-९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गरेका हुन् । उनीहरू दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुन् ।

शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कारपियो फिर्ता गरेका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गरे । 

उनले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेस शुक्लागण्डकीले उनीसहित १० जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । 

उनले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताए । निर्वाचन आचारसंहिता सुरु भए लगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनले बताए । 

निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उनले अब मेयरको उम्मेदवार भए पनि नभए पनि सवारीको सुविधा नलिने प्रस्ट पारे । 

यसै गरी भीमाद-९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । उनले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरेका हुन् । 

निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उनले बताए । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उनले बताए । 

यसै गरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग१ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका छन् । अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने उनले बताए ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिकाका उपमेयर सविता रसाइलीले आफूले प्रयोग गर्दै आएको सवारी फिर्ता गरेकी छिन् ।

सोमवार कार्यालय परिसरमा प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेलाई ग १ झ ८४९७ नं। को स्कारपियो गाडी र चाबी फिर्ता गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ