arrow

हेटौँडाको मेयरका लागि गठबन्धनमा अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
five-partise=2079-election.jpg

हेटौँडा। स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी माहौल तात्न थालेको छ। तर, पनि पाँच दलीय सत्तारुढ गठबन्धनको उम्मेदवारको अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन।

गठबन्धनका दलहरूले हेटौँडा उपमहानगरपालिकाको प्रमुखको लागि आआफ्नो दाबीसहित उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन्। सत्ता गठबन्धनका दलहरूले मेयर पदका लागि अडान नछाडेपछि अझैसम्म उम्मेदवार टुङ्गो लगाउन नसकिएको हो।

नेकपा एकीकृत समाजवादीले आइतबार मेयर पदको लागि दुई जनाको नाम सिफारिस गरेको छ भने नेपाली काँग्रेसले पनि सोमबार मेयर र उपमेयर पदका लागि तीन-तीन जनाको नाम सिफारिस गरेको छ।

नेकपा एसले हालकी उपमेयर मिना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई मेयरमा उम्मेदवार बनाउन सिफारिस गरेको हो। अघिल्लो पटक एमालले जितेको स्थानमा समाजवादीले दाबी गरिरहेको छ। समाजवादीले हेटौँडाका १९ वटै वडाको अध्यक्षहरूमा पनि नाम सिफारिस गरेको छ।

काँग्रेस हेटौँडा उपमहानगर समितिले हेटौँडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेको छ।

गठबन्धनको टुङ्गो लागिसकेपछि काँग्रेस जिल्ला कार्यसमितिले केन्द्रमा सिफारिस गर्ने नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए। केही दिनमा नै उम्मेदवारको टुङ्गो लगाउने उनको भनाइ छ । नेकपा माओवादीले भने आफ्नो तर्फबाट मेयर तथा उपमेयरको नाम सिफारिस गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ