arrow

क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
cypro-currency-racket.jpg

काठमाडौँ। प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको महाबौद्ध, न्यूरोड र कलङ्की क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौँको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलान्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौँको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौँको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन्।

अनुसन्धानको क्रममा उनीहरूले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये अनुपले सन् २०२१ को मे देखि हालसम्म विभिन्न २० वटा क्रिप्टोकरेन्सीबाट ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। उनको बिनान्स एकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको ०.३१७३६९१९ बिट क्वाईन मौज्दात रहेको देखिएको छ।

त्यस्तै राहुलले करिब एक वर्ष अघिदेखि हालसम्म ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। उनीसँग हाल बिनान्स एकाउन्टमा ६५१ अमेरिकी डलर बिट क्वाइन मौज्दात रहेको देखिएको छ।

उनीहरूले दैनिक पाँच हजारदेखि ५० हजार सम्म यूएसडीटीको कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु वानएक्स बेट, हाइपर फण्ड लगायत अनलाइन प्लेटफर्महरूमा लगानी गर्ने गरेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

साथै व्यापारिक प्रयोजनका सामाग्रीहरू विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत क्रिप्टोकै रूपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेका थिए। अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरूले आफ्नो पहिचान गोप्य राखी अन्य सयौँ व्यक्तिहरूको प्रयोग गरी तिनका नाममा बैङ्क खाता र बिनान्स एकाउन्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो व्यापार गर्न प्रोत्साहित गर्ने गरेको देखिएको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ