arrow

पोखरा मेयरको पद पेचिलो बन्दै, सभापति देउवाको निमन्त्रणमा नेताहरू काठमाडौँतिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
pokhara-lekhnatha-metro.png
फाइल तस्बिर

पोखरा। पोखरा महानगरपालिकामा नेपाली काँग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँट हुन सकेको छैन। कास्कीमा जिल्ला तहका काँग्रेसका नेताहरू कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरूले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ।

काँग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरूले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन्।

काँग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम सङ्कलन गरेको छ। उनीहरूको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकाङ्क्षीले पोखरा भिजन निर्माण गरिरहेका छन्। यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरूलाई प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौँ बोलाएका छन्।

प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्व मन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौँ हिँडेका छन्। ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ। हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौँ,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन। चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौँ।’

उनले पोखराको मेयर काँग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरू रहेको उनले बताए। अघिल्लो साता जिल्लाका झन्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए। त्यति बेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए। अहिले उनैले बोलाएपछि काठमाडौँ हिँडेको बरालले बताए।



नयाँ