arrow
ADVERTISEMENT

खोटाङमा ६ पालिकामा चार दल र ४ पालिकामा तीन दलबीच गठबन्धन

logo
रासस,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
khotang.jpeg
फाइल तस्बिर

खोटाङ। सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबिच तालमेल गर्ने सहमति भएको छ। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो।

गत चैत १६ गतेदेखि सुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए। दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा काँग्रेसबाहेक र छ पालिकामा काँग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित काँग्रेस एक्लै लड्दा अरू तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी)ले एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ। हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले जानकारी दिए।

साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एक अर्काले सहयोग गर्ने सहमति भएको छ। बाँकी छ पालिकामा भने काँग्रेससहित चार दलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज समिति कार्की ‘अस्मिता’ले जानकारी दिए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐसेलुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए। यीमध्ये तीनमा काँग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेदवार पाउनेछन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पदको उम्मेदवार दिने गठबन्धन दलले सहमति गरेका छन्। पालिकामा तालमेल र भागबन्डाको विषय टुङ्गिए लगत्तै कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल केन्द्रित भएको जनाइएको छ।

दश स्थानीय तहका ७९ वडामा भने तालमेल र भागबन्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ। वडागत तालमेलको विषय पनि भोलिभित्र टुङ्गो लगाइसक्ने गरी सत्ता गठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिए। विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको थियो।

अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हात पारेको एमाले खोटाङ अहिले सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको  । एमाले खोटाङले पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाउन पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिएका छन्।

एमालेका अनुसार वडा स्तरीय उम्मेदवारको टुङ्गो लागिसकेको छ भने पालिका स्तरमा गठबन्धनको उम्मेदवार हेरेर चयन गर्ने जनाइएको छ। समाचार अनुसार पालिका तथा वडा स्तरका उम्मेदवारको नामावली तयार भइसकेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ