arrow

एनआरएनएले पनि राष्ट्रिय खेलकुदमा भाग लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
NRNA_1618131765.jpg

गण्डकी । गण्डकी प्रदेशमा जेठ २२ गतेदेखि शुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएले पनि सहभागिता जनाउने भएको छ । यसअघि तत्कालीन प्रदेश ५ (हाल लुम्बिनी प्रदेश)मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको थियो ।

त्यति बेला ६ खेलमा सहभागिता जनाएको एनआरएनए स्पोर्टस एकेडेमी (खेलकुद प्रतिष्ठान)ले यो संस्करणको प्रतियोगितामा कम्तीमा १८ खेलमा सहभागिता जनाउने गरी तयारी अगाडि बढाएको एनआरएनका खेलकुद सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए ।

उनले भने ‘विगतमा हामीले पटक पटक प्रतियोगिता सर्दा तयारी गर्न नपाएकाले थोरै खेलमा मात्रै सहभागिता जनाएका थियौँ, यस पटक गण्डकी प्रदेशमा जेठ २२ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगिता नसर्ने पक्का भएकाले हामी धेरै भन्दा धेरै एनआरएनए खेलाडीहरूलाई सहभागी गराउन चाहन्छौँ ।’

एनआरएनए आफैमा नेपालीसँग जोडिने संस्था भएकाले नेपाललाई खेलकुदका माध्यमबाट विश्वभर चिनाउनका लागि उच्च स्तरमा अभ्यास गरिरहेका दोस्रो पुस्ताका खेलाडीहरूलाई गैर आवासीय नेपाली सङ्घ खेलकुद प्रतिष्ठानको माध्यमबाट नेपाली राष्ट्रिय टिममा ल्याउने अभियानको रूपमा नवौँ राष्ट्रिय खेलकुदलाई उत्कृष्ट माध्यमको रूपमा लिएको पनि एनआरएनएले जनाएको छ ।

‘आठौंमा एनआरएनएका खेलाडीहरुले व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएकोमा यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउने छन्’, सदस्य सचिव गिरीले भने । त्यसका लागि एनआरएनएका ६५ देशमा रहेका एनसीसीहरुलाई टिम निर्माणका लागि पत्राचार गरिसकिएको पनि गिरीले जानकारी दिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीका ११ जिल्लामा ३८ खेल सञ्चालन गर्ने गरि तयारी भइरहेको राखेपले जनाएको छ । एनआरएनए स्पोर्टस एकेडेमीले अहिले आर्चरी, एथलेटिक्स, ब्याड्मिन्टन, बक्सिङ, चेस, क्रिकेट, फुटबल, जुडो, कराते, लन टेनिस, स्फ्ट टेनिस, स्विमिङ, टेबल टेनिस, भलिबल, तेक्वान्दो, बास्केटबल, उसु र रग्बीमा सहभागिता जनाउने निश्चित भए पनि अरू खेलमा पनि सहभागिता जनाउने गरि तयारी भइरहेको पनि जनाएको छ ।

एनआरएनको पहुँच राष्ट्रिय खेलकुद परिषद् राखेपमा पुग्न नसक्दा झण्डै प्रतियोगिताबाट बाहिरिएको थियो । तर एनआरएनको पहलका कारण यस पटक पनि विभागीय टिमकै रूपमा एनआरएनएले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ