arrow

के छ एकीकृत समाजवादीको ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा ? [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
nekapa-as-ghosana-patra-2079-election.jpg

काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी) ले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा विभिन्न आश्वासनहरु र योजनाहरु दिइएको छ । नेकपा एसले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । जसमा मतदालताई निःशुल्क खानेपानी र दुई सय युनिट विद्युत निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । 

‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुर्याइने छ ।’

घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिनेसमेत घोषणापत्रमा उल्लेख छ । 

‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ ।

‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ । यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ । 

त्यस्तै पार्टीले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान निर्माण गर्ने जनाएको छ । ‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन् । यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका पालिकाहरूले युवा विभाग गठन गर्ने छन् । पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्याङ्क लिने, ती युवाहरूमध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने छन्,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।

त्यस्तै पार्टीले बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ । मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेकपा एसले उक्त प्रतिबद्धता जनाएको हो । 

‘हरेक टोलमा बालउद्यान निर्माण गरिने छ । यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्था गरिने छ,’ घोषणापत्रमा नेकपा एसले भनेको छ, ‘बालबालिका समाजको उत्तरदायित्व भन्ने मर्मलाई हृदयंगम गर्दै हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गरिनेछ ।’

काममा जाने श्रमजीवि अभिभावकलाई बालबालिका रेखदेख गर्ने सामाजिक केन्द्रका रुपमा स्थानीय सरकारले बाल स्याहार केन्द्र संचालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य र कलाप्रति आकर्षित गर्नका लागि हरेक वार्डस्तरमा स्थानीय विद्यालयहरूलाई अग्रसर गराई वार्षिकरूपमा बालसाहित्य तथा कला मेलाको आयोजना गर्ने प्रतिवद्धता पनि नेकपा एसले गरेको छ । 

‘बालबालिकाहरू आफ्नो घर र समाजमा सुरक्षित रहुन् भन्ने उद्देश्यले आवश्यक अनुगमनको व्यवस्था गरिने छ । यसका लागि स्थानीय प्रहरी कार्यालयसँग आवश्यक समन्वय गरिने छ,’ घोषणापत्रमा लेखिएको छ ।

त्यस्तै घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितलाई प्राथमिकता दिएको छ । ‘शारीरिक अपाङ्गता भएका मानिसलाई उहाँहरूको क्षमताबमोजिम तालिम र सो पश्चात रोजगारी उपलब्ध गराउने कार्यक्रम स्थानीय सरकारको तहबाट सञ्चालन गर्नुपर्दछ भन्ने बारेमा हाम्रो पूर्ण प्रतिवद्धता छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।

हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र रहेका शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई रोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निव्र्याजी ऋण प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

‘बौद्धिक अपाङ्गता भएका मानिस र बालबालिकाको स्याहार– सुसार र संरक्षणका लागि सम्बन्धित परिवारलाई मासिक रूपमा भत्ता दिने व्यवस्था गरिने छ,’ नेकपा एसको घोषणापत्रमा लेखिएको छ ।

‘अपाङ्ग मैत्री गाउँ–सहर’ भन्ने नाराका साथ अपाङ्ग मैत्री संरचना, खासगरी अपाङ्ग मैत्री विद्यालय, कार्यालय एवं सामुदायिक भवन तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरिने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।

त्यस्तै नेकपा एसको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् । नेकपा एसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरेको छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको नेकपा एसले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ । 

भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको जनाउँदै घोषणापत्रमा नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्न अभियान सञ्चालन गरिने जनाइएको छ ।  

‘स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो  कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन्,’ घोषणापत्रमा लेखिएको छ ।

नेकपा एसका जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिवद्धता नेकपा एसले गरेको छ ।

‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन्,’ नेकपा एसले भनेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ