arrow

कमल थापा र एकनाथ ढकाललाई एमालेको सहारा, यसरी आए हिन्दूवादी र होलीवाइन एकै ठाउँमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
kamal-thapa-eknath-dhakal.jpg

काठमाडौं । अन्ततः हिन्दू राष्ट्रको एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र ‘होलीवाइन’ नेताको रुपमा चिनिएका एकनाथ ढकाल एकै ठाउँमा आएका छन्  । उनीहरुलाई मिलन गराउने काम नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गराएका छन् । 

अब राप्रपा नेपाल र परिवार दल दुवै पार्टी सूर्य चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा जाने भएका छन् । सूर्य चिन्ह लिएर चुनावमा उम्मेदवारी दिएपछि कानूनी रूपमा उनीहरु एमालेकै हुनेछन् । सूर्य चिन्ह लिएर चुनाव जितेपछि उनीहरुलाई एमालेको ‘ह्विप’ लाग्छ ।

विगतमा हृदयेश त्रिपाठी र विज्रेश गुप्ता सूर्य चिन्ह लिएर २०७४ को प्रतिनिधि सभाको चुनावमा भाग लिएका थिए । २०७४ को प्रतिनिधि सभा कायम रहेसम्म त्रिपाठी र गुप्ता कानूनी रुपमा एमालेकै छन् । राप्रपा नेपाल र परिवार दल दुवैै पार्टीले एमालेसँग सम्झौता गरेका छन् । 

दुवै पार्टीले स्थानीय तहको चुनावमा सूर्य चिन्ह प्रयोग गर्ने सहमति गरेका छन् । यसबाट राप्रपा नेपालका कार्यकर्ताहरुले परिवार दल र परिवार दलका कार्यकर्ताहरुले राप्रपा नेपाललाई सहयोग गर्नेछन् । तर दुवै पार्टीको आस्था र पृष्ठभूमि फरक फरक मात्र छैन पूर्णतः विपरीत छ ।  

राप्रपा नेपालका अधयक्ष कमल थापाले शुरुदेखि नै हिन्दू राष्ट्र र राजतन्त्रको एजेण्डा बोकेका छन् । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा पराजित भएपछि मात्र उनले राजतन्त्रको एजेण्डा छाडेका हुन् । त्यसपछि उनले राप्रपा नै छाडे । गीताको कसम खाएर कहिल्यै पनि पार्टी नफुटाउने प्रण गरेका थापाले अध्यक्षमा पराजित भएपछि निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने स्थल) ले आफूलाई हराएको निष्कर्ष निकाल्दै राजसंस्थाको एजेन्डा नै त्यागे र पार्टी पनि त्यागे । 

यता परिवार दलमाथि नेपालमा क्रिश्चियन धर्मलाई बढवा गरेको आरोप लाग्ने गरेको छ । केही वर्षअघि केपी शर्मा ओली सत्तामा रहेका बेलामा परिवार दलले दक्षिण कोरियाबाट क्रिष्टियन आध्यात्मिक नेतालाई काठमाडौंमा बोलाएर नेपाली नेताहरुलाई होलीवाइन खुवाएको थियो । यो घटना त्यतिबेला निकै चर्चित भएको थियो । 

परिवार दलले आफ्नो घोषणापत्रमै धर्म निरपेक्षको विषयलाई बडो जोडले उठाएको छ । राप्रपा नेपालले त्यसरी नै घोषणा पत्रमा हिन्दू राष्ट्रको एजेण्डालाई उठाएको छ । 

बुधबार राप्रपा नेपाल र परिवार दलका नेताहरूले एमालेका नेताहरूसँग भागबण्डाको विषयमा छलफल गर्ने भएका छन् । बुधबार नै भागबण्डाको टुंगो लगाउने तयारी भएको दुवै पार्टीका नेताहरुले जनाएका छन् । 

बुधबार बिहान राप्रपा नेपालको बैठक बस्नेछ । त्यसपछि दिउँसो एमालेसँग वार्ता हुने राप्रपा नेपालका नेताहरुले जनाएका छन् । परिवार दलले एमालेसँग एक प्रदेशमा कम्तीमा ३ पालिकाको दरले देशभर कम्तीमा २१ वटा पालिका माग गरेको छ । यसैगरी ८६ ठाउँमा वडा अध्यक्ष माग गरेको छ । राप्रपा नेपालले भने कति माग गर्ने भन्ने विषमया बुधबार बिहान छलफल गर्ने भएको छ ।

तर संगठनको हिसाबमा राप्रपा नेपाल र परिवार दल दुवै कमजोर छन् । राप्रपाका केही नेताहरुलाई आफूतिर ल्याउने बाहेक कमल थापाले केही पनि प्रगति गरेका छैनन । जबकि राप्रपा स्वयं देशभर कमजोर छ । आफ्नो संगठन निकै कमजोर भएपछि कमल थापाले सूर्य चिन्ह प्रयोग गर्न लागेका हुन् । 
पछिल्लो स्थानीय निर्वाचनमा परिवार दलले कहीँ पनि जितेको छैन । यसबाट पनि यसको संगठन कति कमजोर रहेछ भन्ने स्पष्ट हुन्छ तर अहिले एमालेको सहारामा यी दुवै दल उभिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ