- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कास्कीका नेपाली कांग्रेसका नेताहरुले मानोमाथि पाथी खन्याउँदा पोखिने चेतावनी दिए पनि अन्ततः गठबन्धनको क्रममा नेकपा एसले पोखरा महानगर पाउँदा जीत कठिन हुने बताइएको छ ।
नेपाली कांग्रेसका स्थानीय नेताको दबाबबीच अन्ततः पोखरा महानगरपालिकाको मेयर गठबन्धनको सानो दलमध्येको नेकपा (एकीकृत समाजवादी) ले पाएपछि जितका लागि कठिन अवस्था आउने बताइएको हो ।
आउँदो ३० बैशाखको स्थानीय तह चुनावमा एकीकृत समाजवादीबाट उठ्ने मेयरको घरदैलोमा कांग्रेसका नेताहरुको साथ रहे पनि मतदाता सबैले मत खसाउने अवस्था नआउने बताइएको हो ।
अझ एस पार्टीले पोलिटव्यूरो सदस्य दिलु पन्तले टिकट पाउने भएपछि झन् कमजोर उम्मेदवारको विश्लेषण गर्दै कांग्रेसहरुले सबै मत खस्न गाह्रो हुने चेतावनी दिइरहेका छन् ।
पोखरामा यसअघि कांग्रेस–माओवादी तालमेल हुँदा १३ हजार मतले जितेको एमालेलाई एस पार्टी आउँदा झन् फाइदा हुने बताइएको छ । एस पार्टीले पनि आफ्नो १५ हजार मत रहेको जनाए पनि यथार्थमा त्यस्तो नभएको नेकपा एमालेले जनाएको छ ।
थोरै मात्रै कार्यकर्ता एस पार्टीमा गएकाले त्यहाँ त्यति असर नगर्ने एमालेको भनाइ छ । पोखरामा एमालेको बलियो प्रतिस्पर्धी कांग्रेस नै हो र त्यही पार्टीका उम्मेदवार मैदानमा नरहने भएकाले एमालेलाई अझ सजिलो भएको हो ।
पोखरामा मात्र होइन एस पार्टीको अस्तित्वको बारेमा शंका गरिरहेका गठबन्धन दलहरुले बाध्यतावश मेयर पद छाडेको संकेतपछि त्यहाँ गठबन्धनको मत पूरै खस्नेमै शंका रहेको हो ।
समाजवादीसँग दुई हजार मत पनि नभएको दाबी कांग्रेस नेताको छ । तर समाजवादीले आफ्नो १५ हजार मत रहेको जनाएको छ । ठूलो पार्टी कांग्रेस चुनावमा नहुँदा भोट खेर जाने डरले धेरै तटस्थ मत एमालेलाई जान सक्ने अनुमान रहेको छ । नयाँ मतदाता थपिएका कारण त्यसमा एमालेका मतदाता रहेका पनि कांग्रेस स्वंयले जनाएको छ ।
२०७४ सालको चुनावमा तत्कालीन पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ मतदाता थिए । अहिले ३९ हजार ६४५ मतदाता नयाँ थपिएका छन् । पोखरामा २०७९ सालको चुनावमा मतदाता संख्या २ लाख ७ हजार ७१२ छ ।
२०७४ सालमा १ लाख २५ हजार ८५३ मत ९७४।८३ प्रतिशत० मत खसेको थियो । त्यतिबेला कांग्रेस र माओवादीबीच मेयरमा गठबन्धन हुँदा पनि एमालेका उम्मेदवार मानबहादुर जीसी १३ हजार ७०२ मतान्तरले विजयी भएका थिए ।
जीसीले ६० हजार ११८ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए । यी दुईपछि तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का उम्मेदवार हुमबहादुर गुरुङले ३१ सय ७० मत ल्याएका थिए ।
हुम गत फागुनमा नेकपा एमाले प्रवेश गरेका छन् । चौँथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरुङले २२ सय ७२ पाएकी थिइन् । मेयरमा १६ जना भिडेकोमा २१ देखि ३ सयसम्म मत पाएका छन् ।
गठबन्धनमा सहभागी पाँच दलमध्ये त्यतिबेला माओवादीले कांग्रेसलाई मेयरमा समर्थन गरेको थियो । उपमेयरमा माओवादीबाट गोमा ढकालले ८ हजार ७९६ मत पाएकी थिइन् । जसपाले गत निर्वाचनमा ल्याएको मत गठबन्धनमा रहने गरी हिसाब गर्दा पनि एमाले अझै १० हजार मतले गठबन्धनभन्दा अगाडि र गत निर्वाचनमा जसपाले पाएको केही मत पनि एमालेमा जाने अवस्थामा पोखरा एस पार्टीका लागि निकै सकसपूर्ण रहेको छ ।