- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । दलहरुले निर्वाचनका बेला जनतालाई मीठा भाषण गरेर भ्रम छर्ने तर निर्वाचित भएपछि निर्वाचित क्षेत्र र त्यहाँका जनताको विकासका लागि कुनै वास्ता नगर्ने प्रवृति अझै पनि कायमै रहेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा १ का स्थानीयवासी खिमलाल पाण्डेले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र उमेद्धवारी घोषणा गरेका छन् ।
२०५४ सालमा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित र २०५९ सालमा नेकपा माओवादी पार्टी सदस्य हुँदै जिल्ला सदस्यसमेत जिम्मेवारी सम्हाल्दै आएका पाण्डे स्थानीय विभिन्न संघसंस्थाहरुमा रहँदै आएका छन् । उनी पछिल्लो समय नेकपा माओवादी विप्लव समूहमा थिए ।
तर पछिल्लो समय दलीय सत्ता परिवर्तनले देश र जनताका पक्षमा दूरदर्शी एवं प्रभावकारी काम गर्नुको साटो देशको सार्वभौम एवं जनताको अस्तित्व समाप्त गर्ने खालका कामकारबाही गर्दै आएको भन्दै उनी अब कुनै पनि राजनीतिक पार्टीमा नलागी देशको रक्षा र विकासका लागि स्वतन्त्र राजनीतिकको आवश्यकता औंल्याउँदै आफूले वडाध्यक्षमा स्वतन्त्र उमेद्धवारी घोषणा गरेको सम्मेलनमा बताए ।
उनले कुनै पनि पार्टीले देश र जनताको हितमा काम गर्ने कुरा विश्वस्त नभएकाले विकास र समृद्धिको लागि स्वतन्त्रको आवश्यक रहेकाले आफूले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको जनाए ।
दलहरुले आफ्ना आसेपासे, नातावाद र कृपावादलाई मुख्य रुपमा चासो दिने तर एउटा कुनै ग्रामीण क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा र रोजगार लगायतका अपूर्ण अभाव झेल्दै आएका नागरिकहरुको बारेमा महत्वाकांक्षी योजना नबनाउने प्रवृत्ति र भ्रष्टाचार मौलाउँदै जानुले लामो बलिदानीले प्राप्त आएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने खतरा बढेको बताउँदै उनले स्थानीय जनतालाई राम्रो नराम्रो छुट्याएर मात्रै आगामी निर्वाचनमा आफ्नो मत दिन आग्रह गरे ।
विभिन्न दलका नेताहरुबाटै पछिल्लो समय भ्रष्टाचार बढ्दै गएको, नीतिगत एवं खुलेआम कालोबजारी र सेटिङले जनताको ढाड सेकिँदासमेत कुनै दलहरुले जनताप्रति प्रभावकारी काम गर्न नसकेका कारण अब स्वतन्त्र निर्वाचित जनप्रतिनिधिले मात्रै देश र जनताको पक्षमा महत्वपूर्ण कार्य गर्ने विश्वास व्यक्त गरेका थिए।
सिंचाइको सुबिधा पुर्याउनको लागि डिप बोरिङ् प्रणालीको खोज तथा अनुसन्धान गर्ने र खेतीयोग्य जमीनलाई वैकल्पिक खेतीको विकास गरी आत्मनिर्भरता बढाउनुको साथै कृषकलाई नयाँ खेती प्रणालिमा जोड दिने योजना रहेको पाण्डे जानकारी दिए ।
वडा भित्र रहेको सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक तथा ब्यावसायिक शिक्षामा जोड दिने र त्यसका लागि बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न मोडालिटी तयार गरेर काम गर्ने बताए ।
सुकुम्बासी समस्याको समाधानको लागि सम्बन्धित निकायमा पहल गरी समस्या हल गर्नमा कुनै कसर बाँकी नराख्नेसमेत उनले जिकिर गरे ।