arrow

शौचालयमा एसी राखेका मेयरले १० वर्षदेखि तिरेनन् खानेपानीको महसुल

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
khanepani-janakpur.jpg

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले १० वर्ष बढीदेखि सरकारी धाराबाट खाएको पानीको महसुल नतिरेको रहस्य खुलेको छ । सरकारी ढुकुटीमा मोजमस्ती गर्दै आएका मेयर साहले आफ्नो घरमा प्रयोग गर्दै आएको पानीको महसुल १० वर्षभन्दा बढी समयदेखि तिरेका छैनन्। 

मेयर साहले पानीको महसुल नतिरेको सुन्दा कतिपयलाई अपत्यारिलो जस्तो लाग्नु स्वाभाविक हो।  मेयर साहले नतिरेको खानेपानीको महसुल १ लाख ४६ हजार रुपैयाँ रहेको छ। यो महसुल गत चैत मसान्तसम्मको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्दचोक भन्दा पूर्व रहेको मेयर साहको घरमा उनकै नाममा खानेपानीको धारा जडान रहेको छ ।

नगरपालिका कार्यालयको आफ्नो कार्यकक्षको शौचालयमा एसी जडान गरेका छन्। आफू चढ्न उनले डेढ करोडको गाडी खरिद गरेको तथ्यले पनि उनको जीवन शैलीमा आएको अप्रत्याशित परिवर्तन बुझ्न सकिन्छ। जनताको मिहिनेत र पसिनाको एक–एक रुपैयाँ करबाट आरामको जीवन बिताइरहेका मेयर साहले आफूले उपभोग खानेपानीको महसुल भने नतिरेको तथ्य खुलेको छ ।

खानेपानी संस्थान कार्यालयले पटक पटक महसुल तिर्न ताकेता गर्दा पनि मेयर साहले पदको आडमा धाक देखाउँदै महसुल नतिरेका हुन्। डरको कारण संस्थानका कर्मचारीले पनि मेयर साहका धाराको लाइन काट्ने हिम्मत नगरेको गुनासो पोखे। उल्टै पानीको महसुल छुटका लागि मेयर साहका घरपरिवारका सदस्यले पटक–पटक संस्थानका कर्मचारीलाई थर्काउने काम गर्दै आएको कार्यालय स्रोतले जानकारी दियो।

‘हामीले महसुल बुझाउन पटक पटक ताकेता गर्‍यौ । तर मेयर साहले कहिल्यै वास्ता गर्नु भएन। उल्टै मेयर साहको परिवारका सदस्य आएर थर्काउने काम गर्दै आए । जसरी पनि छुट गर्नुपर्छ भन्दै दबाब दिन्छन्।'  

त्यति मात्र होइन मेयर साहकै आफन्त पर्ने वडा नम्बर ८ मै घर भएका दिलीप साहकी श्रीमती विना साहको नाममा रहेको धाराको महसुल पनि वर्षौँदेखि नतिरेको पाइएको हो। बिनादेवी साहको नाममा ९५ हजार ७ सय ३४ रुपैयाँ खानेपानीको महसुल बाँकी रहेको छ । मेयरको आफन्त हुँ भन्दै उनले पनि खानेपानीको महसुल तिर्न मानेकी छैनन्। उनले पनि महसुल छुट गर्न दबाब दिने गरेको नाम नखुल्ने सर्तमा कार्यालयका एक कर्मचारीले जानकारी दिए। 

मेयर साह आगामी चुनावका लागि पुनः जनता समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन्। तर, यस पटक निर्वाचन आयोगले सरकारी महसुल र सरकारी बेरुजु रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ । यता उम्मेदवारी दर्ता गराउनु अघि मेयर साहले खानेपानीको महसुल अनिवार्य तिर्नै पर्ने बाध्यता रहेको छ ।

जनकपुरधाममा झण्डै ४ हजार ५ सय घर तथा सङ्घसंस्थामा खानेपानीको धारा जडान रहेका छन् । अहिले पनि ३ करोड २० लाख रुपैयाँ महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान कार्यालय जनकपुरले जानकारी दियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ