arrow

एकतामा आउन प्रचण्डको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
prachanda-reporter-club.PNG

काठमाडौं । कम्युनिष्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा प्रचण्डले यस्तो आव्हान गरेका हुन् । 

उनले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताए । “विभाजित भएका माओवादी शक्ति पुनः एकता हुने क्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ”, उनले भने, “जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उनले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरू एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताए । “परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट शक्तिलाई विशेष रूपले अपिल गर्न चाहन्छु”, उनले भने ।

परिवर्तनका मुद्दालाई स्थापित गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र न्यायपूर्ण आन्दोलनका सहिदका सपना पूरा गर्न परिवर्तनकामी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नुपर्ने बताए । 

“हामीले जित्दा राष्ट्रले जित्छ, जनताको जीत हुन्छ”, उनले भने, “माओवादीले हार्दा प्रतिक्रान्तिकारीले जित्ने खतरा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जिताउन जनता अग्रसर हुनुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ