arrow

पार्टीले चुनावमा टिकट नदिएपछि बागी उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
five-partise=2079-election.jpg

गलकोट । गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । 

महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिएकी छन् । गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी नै छोडिन् । 

यस्तै गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसको भागबण्डामा परेपछि जनमोर्चाकी रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिह्नबाट लड्ने र स्वतन्त्र उठ्नेको सङ्ख्या धेरै छ । 

ताराखोला गाउँपालिकामा अध्यक्ष प्रकाश घर्तीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)ले ताराखोलामा धनबहादुर विकलाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

यस्तै गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस बागलुङका जिल्ला सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरे पनि पार्टीले पुुनः भरत शर्मा गैरेलाई दोहोर्‍याउने निर्णय गरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। 

गलकोटमा उपमेयर नपाएपछि माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले पार्टी परित्याग गरेर स्वतन्त्रबाट उठेकी छन् । गलकोटमा गठबन्धनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिएपछि उप्रेतीले पार्टी परित्याग गरेका हुन् । 

ढोरपाटन नगरपालिकामा कांग्रेसकी दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाट प्रमुख पद माओवादीलाई परेपछि उनले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  

एमालेले बागलुङ नगरपालिका-२ मा रामबहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि रामराजा गुरुङ र पुनमप्रसाद शर्मा बागी उम्मेदवार बन्नुभएको छ । यस्तै बानपा-३ मा माओवादी केन्द्रका बाबुलाल शाक्यले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।   

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चालगायत दललाई असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाउन हम्मेहम्मे परेको छ । उम्मेदवारी फिर्ता लिने आयोगको समय तालिकाअनुसार यही वैशाख १६ गते साँझ ५ बजेसम्म रहेको छ ।  



नयाँ