arrow

पाइलटले चुरोट पिउँदा ६६ जनाको ज्यान गएको इजिप्टएयर दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
egypt-ari-crash.png

अन्तर्राष्ट्रिय कानुन अनुसार दुर्घटनाका एक वर्षभित्रमा अनुसन्धान पेश गर्नुपर्ने भए पनि इजिप्टका अधिकारीहरूले अनुसन्धान सार्वजनिक गरेका थिएनन् । एक वर्षमा सार्वजनिक गर्न नसके प्रत्येक वर्ष अस्थायी रूपमा अनुसन्धान सार्वजनिक गर्नुपर्ने भए पनि त्यो पनि गरेनन् ।

मृतक ६६ जना मध्ये १५ फ्रान्सेली नागरिक रहेको उक्त विमानको अवशेष एक महिनापछि मात्रै फेला परेको थियो ।

बहुराष्ट्रिय सम्झौताले फ्रान्सेली अधिकारीहरूलाई अनुसन्धान गर्न दिएको थिएन । यद्यपि, अहिले फ्रान्सेली विज्ञहरूद्वारा सङ्कलित र पेरिसको पुनरावेदन अदालतमा पठाइएको एक गोप्य १३४ पृष्ठ लामो अनुसन्धान कागजातले पाइलटहरूको चुरोटको धुवाँलाई दुर्घटनाको कारण बताएका छन् ।

इटालियन अखबार कोरियर डेला सेरा (Corriere della Sera) ले प्राप्त गरेको रिपोर्ट अनुसार सहायक पाइलटको अक्सिजन मास्क मर्मत सम्भार इन्जिनियरले  'सामान्य'को सट्टा 'आपत्कालीन' मोडमा राखेको थियो ।

यसै कारण पाइलटले चुरोट खाँदा चुरोटले अक्सिजनलाई बाल्दै आगो लाग्यो । विमान बेपत्ता हुनुको केही समय अघि, विमानको स्थिति जानकारी गराउने प्रणालीले धुवाँको चेतावनी दिएको रिपोर्टले जनाएको छ ।

एसीएआरएस प्रणाली जसले विमान र ग्राउन्ड स्टेशनहरू बीच छोटो सन्देशहरू पठाउँछ, त्यसले दुई सेकेन्डमा सात वटा डिस्प्याचहरू पठाएको थियो । जसमा उडान म्यान्युभरिङ मेकानिजमको लागि महत्त्वपूर्ण कम्प्युटर प्रणालीको खराबीको चेतावनी समेत थियो ।

तर, पाइलट, मोहम्मद सैयद अली शोकेर र सहायक पाइलट, मोहम्मद अहमद ममदौह असमले सहयोग मागेका थिएनन् ।

फ्रान्सको ब्यूरो अफ इन्क्वायरी एन्ड एनालिसिस फर सिभिल एभिएसन सेफ्टी (बीईए) ले विमानको ब्ल्याक बक्सको विश्लेषण गरेको थियो । तर, अन्तर सरकारी सम्झौताहरूले फ्रान्सेली अधिकारीहरूलाई कुनै पनि जानकारी खुलाउनबाट रोकेको छ ।

इजिप्टएयर भएका कारण आधिकारिक रूपमा फ्रान्सेली अधिकारीहरूलाई अनुसन्धानको जिम्मेवारी छैन ।

सन् २०१८ मा फ्रान्सको ब्यूरो अफ इन्क्वायरी एन्ड एनालिसिस फर सिभिल एभिएसन सेफ्टी (बीईए) ले ककपिटमा आगो लागेर त्यो आगो फैलिएका कारण दुर्घटना भएको भए पनि अहिले नै पूर्ण रूपमा भन्न नसकिने टिप्पणी गरेको थियो ।

अहिले आएर अक्सिजन मास्क आपत्कालिन अवस्थामा राखेको कारण बढी अक्सिजन बाहिर आइरहेको र सो क्रममा चुरोट बाल्दा चुरोटले अक्सिजन बालेर आगलागी भएको भन्ने रिपोर्ट सार्वजनिक भएको हो । पीडित परिवारहरुले दुर्घटनाको वास्तविक कारण बताउन आग्रह गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ