तनहुँ । तनहुँमा ९५ उम्मेदवारले आज आफ्नो मनोनयन फिर्ता गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन् ।
व्यास नगरपालिकाको मेयरतर्फ नेकपा एसको तर्फबाट शङ्करनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार वृषराज श्रेष्ठले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी वडाध्यक्षतर्फ व्यास नगरपालिका-१ मा राप्रपाबाट बलसुर थापा मगर, २ मा नेकपा एसबाट प्रेमकुमार श्रेष्ठ, ३ को वडाध्यक्षमा स्वतन्त्रबाट रवीन पौडेल, ३ मा विकेकशील साझा पार्टीका नन्लबहादुर थापा, ५ मा नेकपा एसबाट रामलाल श्रेष्ठ, १० मा स्वतन्त्रबाट रवी मिश्र, ११ मा नेकपा माओवादी केन्द्रबाट आइतबहादुर दमै र ११ मा स्वतन्त्रबाट सुशील पौडेलले मनोनयन फिर्ता गरेर्का हुन् ।
महिला वडा सदस्य पदमा व्यास-२ मा नेकपा एसबाट सपना श्रेष्ठले मनोनयन फिर्ता गरेका छन् । खुल्ला सदस्यमा व्यास-२ मा स्वतन्त्रबाट ओमराज श्रेष्ठ, ३ मा नेकपा एसबाट विष्णु पराजुली, नेकपा एसबाटै जेर्मी कुमार मुल्मी र जसपाबाट बुद्धसिं थापाले मनोनयन फिर्ता गरेका छन् ।
व्यास-१३ मा नेकपा माओवादी केन्द्रबाट रामबहादुर क्षेत्री र नेकपा एसबाट गजिन्द्रराज पन्थले मनोनयन फिर्ता गरेका छन् । त्यसैगरी व्यास-८ मा नेकपा माओवादी केन्द्रबाट रामजी पौडेलले मनोनयन फिर्ता गरे ।
व्यास नगरपालिकामा १८ उम्मेदवारले मनोनयन फिर्ता गरेको लिखित नामावली आइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । अन्य बाँकी नौ पालिकाबाट ७७ उम्मेदवारले मनोनयन फिर्ता गरेको मौखिक जानकारी आए पनि लिखित आइनसकेको उनले बताए ।