- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फागुन–चैत महिनादेखि जग्गा खरिद बिक्री तथा जग्गा प्रशासन सम्बन्धी गरिने कारोबार ह्वात्तै घटेको भूमि व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार फागुन–चैत महिना अगाडि हरेक दिन देशभर जग्गाको कारोबारे ८ देखि १० हजारसम्म हुने गरेको थियो तर पछिल्लो एक हप्ता जग्गाको कारोबार हरेक दिन ५ हजारको वरिपरिमा झरेको छ ।
विभागका महानिर्देशक पिताम्बर फागुन–चैत महिना यता जग्गाको कारोबारमा निरन्तर आरालो लाग्दै गएको बताउँदै भने, ‘अहिले प्रत्येक दिन ५ हजारको वरिपरिमा कारोबार भइरहेको छ ।’
विभाग मातहतका देशभर रहेका १ सय २६ वटा मालपोत कार्यालयहरूले जग्गा प्रशासन सम्बन्धी काम गर्छन् । ती कार्यालयहरूले गरेको जग्गा कारोबारेका सबै रेकर्ड हरेक दिन विभागले राख्ने गरेको छ ।
देशभर रहेका सबै मालपोत कार्यालयमा अनलाइन सेवा शुुरु गरिएको छ । सबै मालपोत कार्यालयमा अनलाइन सेवा शुरु गरिएकाले प्रत्येक दिन देशभर कति संख्यामा जग्गाको कारोबार भयो र प्रत्येक दिन कति राजश्व उठ्यो यस सम्बन्धी सबै जानकारी विभागमा आउने गर्छ ।
विभागका अनुसार आफ्नो मातहतका कार्यालयहरूले अद्यावधिक गरेका सबै विवरण केन्द्रमा पठाउने व्यवस्था गरिएको छ । बिहीबार देशभर ५ हजार ७ सय ५३, बुधबार ५ हजार ६ सय ९५, तथा मंगलबार ५ हजार २ सय २५ जग्गा कारोबार भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार जग्गाको कारोबारबाट बिहीबार २१ करोड १९ लाख ७४ हजार, बुधबार २५ करोड २१ लाख ८७ हजार तथा मंगलबार १३ करोड ७० लाख ९३ हजार रुपैयाँ राजश्व उठेको थियो ।
फागुन–चैत महिना अघिसम्म हरेक दिन जग्गाको खरिद बिक्री, नामसारी तथा जग्गा प्रशासन सम्बन्धी अन्य कामबाट ४५ देखि ५० करोड रुपैयाँसम्म राजस्व उठेको थियो ।
सरकारी तथा निजी बैंकहरूले जग्गा खरिद गर्न ऋण उपलब्ध गराउन कडाइ गरेपछि कारोबार घटेको हुन सक्ने विभागका एक कर्मचारीको अनुमान छ ।
उनी भन्छन्, ‘कारोबार घट्नुमा आर्थिक मन्दी पनि अर्को कारण हुन सक्छ ।’ जग्गाको कारोबार घट्दा यसले राज्यले उठाउने गरेको राजश्वमा पनि गम्भीर प्रभाव पर्ने गर्छ ।