arrow

बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
local-level-election-12345.jpg

नेपालगञ्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । 

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उहाँले सीमाको दशगजा क्षेत्रमा कडाइ गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्ने र ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाउने निर्णय गरेको बताए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र भारततर्फ बहराइच र सेराबस्तीका सीमासुरक्षा बलसहित सुरक्षा अधिकारीलगायत दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जङ्गली जनावरको अवैध पैठारी, काठ तस्करी, लागुऔषध कारोवार, मानव बेचबिखनलगायत विषयमा छलफल गरेको थियो ।

“हाम्रो अनुरोधमा भारतीय सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न सहमत हुनुभएको छ”, बर्दियाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले भने । 

अहिले जमुनाहा र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र संयुक्त सुरक्षा गस्तीसमेत गरेका छन् ।  बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ । बर्दियाको भारतसँग जोडिएको नाका धेरै रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ