arrow

अध्ययन र तालिममा अब्बल यी हुन् सशस्त्रका आईजीपी राजु अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
raju-aryal-igp-apf.jpg

काठमाडौं । सरकारले आइतबार सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई चार वर्षका लागि आईजीपीमा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी अर्याललाई आईजीपीमा नियुक्त गरेको हो । उनी पाँच दिनअघि मात्रै एआईजीमा बढुवा भएका हुन् । 

निवर्तमान आईजीपी पुष्पराम केसीको ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अनिवार्य अवकाश भएपछि आइतबार अर्याल आईजीपी नियुक्त भएका हुन् । 

नवनियक्त आईजीपी राजु अर्याल २०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि यता स्थानान्तरण भएका हुन् ।

सोही वर्ष सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका उनी २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक २०७० सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र २०७५ सालमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका थिए । 

४–४ पटकसम्म संयुक्त राष्ट्रसंघीय झण्डामुनि रहेर मिशन सेवा अनुभव हासिल गरेका एआईजी अर्यालसँग विभिन्न १० भन्दा बढी इकाइहरुमा प्रमुख भई कार्य गरेको अनुभव रहेको छ ।

स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढी महत्वपूर्ण व्यवसायीक तालिम हासिल गरिसकेका उनी राष्ट्रका तर्फबाट सुकीर्तिमय राष्ट्रदीप तृतीय¸ सुप्रबल जनसेवाश्री गोरखा दक्षिण बाहु चौथोलगायत विभिन्न आठ बढी बिभूषण मानपदवी¸ पदक तथा अलंकारहरुले विभूषित भएका थिए । 

उनले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास प्रथम श्रेणीमा समाजशास्त्र र राजनीतिशास्त्रका साथै अन्तर्राष्ट्रिय मानवीय कानूनसमेत गरी ४ संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । 

उनलाई सोमबार बिहान ८ः ४५ बजे गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ