arrow

गाउँगाउँमा बढ्यो चुनावी चहलपहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
local-level-election-000.jpg

बनेपा । निर्वाचन चिन्ह प्राप्त गरेपछि उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्राप्त गरेपछि जिल्लाका १३ वटै स्थानीय तहमा चुनावी माहोल ह्वात्तै बढेको हो ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख ३० गते मतदाताले आफूलाई मनपर्ने दल र उम्मेदवारलाई मतदान गर्दैछन् । सोही क्रममा उम्मेदवार, उम्मेदवारका समर्थकलगायत गाउँको टोलटोलदेखि सहरबजारका मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । नेकपा (एमाले) काभ्रेपलाञ्चोकको प्रचार विभाग उपप्रमुख भोजराज तिमल्सिनाले अहिले पार्टीपङ्क्ति र उम्मेदवार आ-आफ्नो पालिकामा केन्द्रित भएर घरदैलो अभियानमा सहभागी भएको बताए ।

 “उम्मेदवारको टुङ्गो लागेपछि प्रचारप्रसार गर्न घरदैलोमा जाने अभियान चलेको छ”, उनले भने । एमालेले पालिकास्तरमा निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मतदाताको घरदैलोमा पुगेर अभियान सञ्चालन गरिरहेको छ ।

बाम लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवार टङ्गो लगाएसँगै मत माग्न अभियान सञ्चालन गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले स्थानीय तहको निर्वाचन भएकाले जिल्लाको सबै पालिकामा पालिकास्तरको निर्वाचलन परिचालन कमिटी गठन गरेर उम्मेदवारसहित घरदैलो अभियान भइरहेको बताए । साझा एजेण्डासहितको सङ्कल्पपत्र जारी गर्दै जनताको बीचमा पुगेर प्रतिबद्धतासहितको सङ्कल्प लिएर मतदाताको घर आँगनमा जानेक्रम जारी छ । 

डाँडापारिस्थित महाभारत गाउँपालिकामा बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटी गठन गरेर त्यसले निर्वाचनसम्बन्धी बैठक, वडाकमिटी परिचालन जनपरिचालनदेखि आवश्यक छलफल बैठक सम्पन्न गर्दै २१ गतेदेखि २७ गतेसम्मको लागि वडा-वडामा घरदैलो अभियान सञ्चालन तालिका बनाएर अघि बढिरहेको बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक सुजन लामाले बताए । गठबन्धनका तर्फबाट सहसंयोजकमा देवराज योञ्जन रहेको समितिले आवश्यक तयारी र परिचानको काममा केन्द्रित भएर चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

त्यस्तै खानीखोला गाउँपालिकामा बाम-लोकतान्त्रिक गठबन्धन, एमाले र स्वतन्त्रका उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । खानीखोला बाम-लोकतान्त्रिक संयुक्त गठबन्धनको प्रचार विभाग सदस्य राजन अधिकारीले पालिका र वडास्तरको छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिरहेको बताए ।

नमोबुद्ध नगरपालिकाको गठबन्धन दलका नगर प्रमुखका उम्मेदवार कुन्साङ लामा र उपप्रमुखका उम्मेदवार रत्न लामाले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने अठोटका साथ कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारको नारासहित निर्वाचनमा साझा सङ्कल्पपत्र सार्वजनिक गर्दै घरदैलो अभियान सञ्चालन गरेका छन् । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, तेमाल भुम्लु, चौरीदेउराली, रोशीलगायत पालिकामा समेत आफ्नो निर्वाचन चिन्हसहित उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ