arrow

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण उपलब्धि : मुख्यमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
Krishnachandra nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, २०२२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत र सुन्दर पक्ष रहेकाले यसको जगेर्नाका लागि सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिए । 

नेपालको सन्दर्भमा लोकतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता जगत्को विशिष्ट योगदान रहेको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको महत्व र विशेषता उजागर गरी यसलाई थप संस्थागत गर्न नेपाली पे्रस जगत् सजगरूपमा अग्रसर भइरहने विश्वास व्यक्त गरे ।

“यस दिवसले नागरिकका सूचनाको अधिकारको सम्मान गर्दै, मिथ्या र झुटा समाचारबाट बचेर खबर कर्ममा जुट्न सम्पूर्ण पत्रकारमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ । कानून निर्माण र कार्यान्वयनका सिलसिलामा प्रेस स्वतन्त्रतामाथि केही असहज अवस्था सिर्जना हुने गरे पनि प्राप्त अधिकारलाई सदुपयोग गर्ने दायित्व सरोकारवाला सबैको रहेको सन्देशमा भनिएको छ ।

गण्डकी प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदा संवेदनशील र सजग रहेको मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन् । 

स्थानीय निर्वाचनको लहर चलिरहेको र यसै वर्षभित्र प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचन हुने सन्दर्भमा प्रेसजगत् थप संवेदनशील र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने भन्दै यसतर्फ पत्रकार र पत्रकारिता जगत् सचेत रहने उनले विश्वास व्यक्त गरेका छन् । प्रत्येक वर्ष मे ३ मा विभिन्न कार्यक्रमका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ