- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। धादिङको निलकण्ठ नगरपालिकामा उपमेयरको पदमा कल्पना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसकी नेतृ अधिकारीले आफूले पार्टी सङ्गठनको लागि स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले कांग्रेसमा निरन्तर २० वर्षदेखि खटिएको उल्लेख गर्दै पार्टी, सङ्गठन, समाज, सबै दाजुभाइ, दिदी बहिनीलाई मर्न नदिन स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारिन् । उनले भनिन्,‘अब जनताहरूले सोच्नुपर्ने बेला आएको छ ।’ आफूले बोलेको आवाज समग्र महिला र युवाहरूको आवाज भएको उनले बताइन् ।
समग्र महिला र युवाहरूको खोला जस्तै आँसु बगिरहेको भन्दै २० वर्ष लामो कांग्रेसको राजनीतिलाई तिलाञ्जलि दिएर स्वतन्त्र उम्मेदवारको रूपमा उभिएको बताइन् । उनले आफ्नो उम्मेदवारी पार्टीलाई खबरदारी गर्नका लागि भएको बताइन् । उनले सत्ता साझेदार दल बीचको चुनावी गठबन्धन प्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी आफ्नो निम्ति नभई सङ्गठनको बचाउको लागि भएको दाबी गरिन् ।
‘पार्टी भित्र बसेर दलीय भागबन्डामा आफ्नो पार्टीलाई लिलाम गर्ने हो कि, सङ्गठन पनि बिग्रने हो की भन्ने विषयको खबरदारी मैले गर्न खोजेको हो,’ उनले भनिन्, ‘म एउटा मरौला तर मेरो सङ्गठन, समाज, सबै दाजुभाइ र दिदी बहिनीलाई मर्न दिन हुँदैन ।’
लामो समयदेखि आफू कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्दै आफूले रुख चिन्हमा खुसीसाथ लड्न पाउनुपर्नेमा नपाएको गुनासो गरिन् । रुख चिन्हमा लड्ने आफ्नो अधिकार भएको दाबी गर्दै पार्टीले संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको कोटा कटौती गरेको उनले टिप्पणी गरिन् । उनले प्रश्न गरिन्,‘संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको आरक्षण कहाँ गयो ? बाङ्गोबाट घुमाएर चोरी तरिकाबाट महिलाहरूलाई सिद्ध्याउने काम भयो ।’
अधिकारीले जनताहरू आफूलाई मत दिन अत्यन्तै आतुर रहेको पनि जिकिर गरिन् । पछिल्लो समय आफ्नै जीवनको विभिन्न सङ्घर्षले पनि निकै बलियो हुँदै गएको उल्लेख गर्दै धेरै पटक समग्र महिलाको हकहित, युवा तथा दलितको विषयलाई आफुले उठाउँदै आएको उनले सुनाइन् । ती विषयहरू साँच्चिकै आज सम्म पनि सम्बोधन हुन सकेको भन्दै नेतृ अधिकारीले आपत्ति जनाइन् ।
उनले अब जनताले गल्ती नगरी मत दिनु पर्ने धारणा राखिन् । उनले आफ्नो मात्र नभएर हजारौँ, युवा, जनजाति, महिलाको आवाज सम्झेर गुलाबको फूलमा मतदान गर्न सबैलाई आग्रह गरिन् । आफुले चुनाव जित्ने पनि विश्वास व्यक्त गरिन् । आफ्नो जित सम्पूर्ण धादिङवासीको जित हुने उनको भनाइ थियो ।
पार्टी संगठनबाट आफू टाढा हुन नखोजेको उनले स्पष्ट पारिन् । आफूले उम्मेदवारी दिन आँट गर्नु नै आफ्नो जित भएको उनको दाबी थियो । कसैको उस्कावटमा लागेर उम्मेदवारी नदिएको भन्दै गठबन्धनको विरोधी नभएको पनि स्पष्ट पारिन् । उनले उक्त पद अरू पार्टीलाई दिए पनि महिलालाई नै दिनपर्ने माग आफुले राखेको तर कसैले सुनुवाइ नगरेको उनको भनाई थियो ।
अधिकारीले बाग्मती प्रदेश सरकारको साझेदारीमा, यातायातको साधन नवीकरण धादिङमा राख्ने समेत प्रतिबद्धता व्यक्त गरिन् । उनले स्वास्थ्य क्षेत्रमा मानवीय सेवा, नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा दिने पनि उनले बताइन् । त्यस्तै, नगरपालिकामा एकल महिलालाई छहारी, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तामा भकारी भर्ने उनको प्रतिबद्धता छ ।