arrow

पाकिस्तान अफगान तालिवानसँग टक्करको बाटोमा : रिपोर्ट

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
pakistan-flag-broader.jpg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानमा भएको सत्ता परिवर्तनले अफगानी तालिबानसँगको टकरवाको स्थिति सिर्जना गरेको छ। इस्लामवादी आतङ्ककारी समूहहरूले अफगानिस्तानको भूभाग प्रयोग गरी पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमणहरू गरिएपछि दुई मुलुकबीच टकरावको अवस्था सिर्जना भएको हो। 

पाकिस्तानीको संसद्ले इमरान खानलाई अविश्वासको प्रस्तावबाट परास्त गर्दै सत्ताको नेतृत्वमा आएका शहबाज शरीफ प्रशासनले अफगानिस्तानको भूभागलाई आधारको रूपमा प्रयोग गरी पाकिस्तानी भूमिमा हिंसक आक्रमण गर्ने कुनै पनि आतङ्कवादी समूहविरुद्ध सैन्य प्रतिकार गर्ने योजना बनाएको छ। आधिकारिक रूपमा त्यस्तो कुनै लिखित योजना नभए पनि वर्तमान सत्ताको रणनीतिमा यो कुरा अटाएको इस्लाम खबरले रिपोर्ट गरेको छ।

काबुलले अप्रिलको सुरुमा पूर्वी अफगानिस्तानको खोस्ट र कुनार प्रान्तमा पाकिस्तानी सेनाको हवाई हमलाको रूपमा कडा सन्देशको सामना गर्नु परेको थियो। जसमा इस्लामावादले काबुललाई बारम्बार अफगान भूमिबाट आक्रमण गर्ने आतङ्ककारीहरू विरुद्ध कारबाही गर्न आग्रह गर्दा पनि आतङ्ककारी हमला नरोकिएपछि इस्लामावादले उक्त क्षेत्रमा रहेको आतङ्ककारी बेसलाई निशाना बनाएर आक्रमण गरेको हो। 

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानको यस कदमलाई क्रूरताको संज्ञा दिएका छन्। अफगानिस्तान र पाकिस्तान बीचको शत्रुताको मार्ग प्रशस्त गरिरहेको समेत उनले बताएका थिए। उनले भने, 'पाकिस्तानी पक्षलाई थाहा हुनुपर्छ कि यदि युद्ध सुरु भयो भने त्यो कुनै पनि पक्षको हितमा हुँदैन।'

गत वर्ष तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तान र अफगानिस्तानबीच सीमा तनाव बढ्दै गएको थियो। इस्लामाबादले आतङ्कवादी समूहहरूले अफगान भूमिबाट नियमित आक्रमणहरू गरिरहेको दाबी गरेको छ। तालिबानले पाकिस्तानमा आक्रमण गर्ने आतङ्ककारीहरूलाई शरण दिएको अस्वीकार गरेको छ। अर्कोतर्फ इस्लामाबादले आफ्नो दुई हजार ७०० किलोमिटर सीमामा अफगानिस्तानले बार लगाएकोले पनि आक्रोशित बनेको हो। 

पाकिस्तानी सेनाले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन। तर विदेश मन्त्रालयले तालिबानलाई अफगान भूमिबाट पाकिस्तान विरुद्ध आक्रमण गर्ने सशस्त्र लडाकुहरू विरुद्ध 'कडा कारबाही' गर्न आग्रह गरेको छ। 'आतङ्कवादीहरूले दण्डहीनताका साथ अफगानिस्तानको माटोलाई प्रयोग गर्दै पाकिस्तानविरुद्धका गतिविधिहरू सञ्चालन  गरिरहेका छन्। यसलाई नियन्त्रण गर्नु अफगानिस्तानको वर्तमान सत्ताको जिम्मेवारी हो।'



नयाँ