arrow

रोल्पाका सबै मतदान केन्द्र संवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
local-level-election-everytime1.jpg

रोल्पा । रोल्पाका सबै मतदान केन्द्र संवेदनशील रहेका छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ । 

जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। 

रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । 

उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको बताए । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएको बताएको छ । 

रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिए । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन् ।

जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देश बाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करिब एक हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो सङ्ख्याको अन्तर अझै बढ्न सक्ने आकलन गरिएको छ ।

जिल्लामा चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ